मनोरंजन

प्रकाश सपुत पछि अर्का लोकदोहोरी गायक पशुपति शर्मा पनि चलचित्रमा डेब्यु

कास्की । लोकदोहोरी गायक पशुपति शर्मा अहिले ‘तीन तिघ्रे, क्या बिग्रे’ नामक नेपाली चलचित्रको छायाङ्कनमा व्यस्त हुनुहुन्छ । रघुजी फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्रमार्फत नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक शर्माको पदार्पण हुन लागेको हो । गायक शर्माले यसअघि ‘प्रेमगीत’ र ‘ब्रासलेट’ चलचित्रका लागि गीत गाइसक्नुभएको छ तर कलाकारका रूपमा भने यो उहाँको पहिलो अनुभव हुने छ ।

चलचित्र हास्य विधामा निर्माण भएकोले आफू खेल्न लागेको गायक तथा नायक शर्माले बताउनुभयो । “आफैँले गाएको गीतको म्युजिक भिडियोमा खेलेको अनुभव त छ नै । कमेडी ‘जनरा’ मलाई मन पर्ने भएकोले पनि काम गर्न सक्छु कि भन्ने लागेको छ । यो मेरा लागि फरक र नयाँ अनुभव हुने छ,” उहाँले भन्नुभयो । चलचित्रमा अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहेको छ भने रघुनाथ सापकोटाले निर्माण गर्नुभएको हो ।

गायक शर्माको ‘लुट्न सके लुट’, ‘छाता हरायो’, ‘मलाई अमेरिका यही’, स्याङ्जा जाने बाटैमा तनहुँ’, ‘मेरो माया बसेको ठाउँमा’, ‘क्याम्पस पढ्न आउनी’ लगायतका गीतले ठुलो लोकप्रियता हासिल गरेका छन् । विशेष गरी ‘लुट्न सके लुट’ गीतले नेपाली समाजमा भ्रष्टाचार र बेथितिविरुद्ध व्यङ्ग्यात्मक सन्देश दिएर व्यापक चर्चा पाएको थियो । शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ ।

यसअघि लोक विधाको गायनबाट नेपाली रजतपटमा प्रवेश गर्नुभएको थियो, प्रकाश सपुत । गीतसङ्गीतबाट चर्चा कमाइरहेका बेलामा उहाँले नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ मार्फत पदार्पण गर्नुभएको थियो । उहाँको पहिलो चलचित्र नै सुपरहिट बन्यो । सपुतले त्यसपछि ‘सोल्टिनी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’, ‘मिरमिरे’, ‘परालको आगो’ लगायतका चलचित्रमा लगातार काम गर्नुभयो । सपुतले आफैँले ‘वसन्त’ नामक चलचित्र निर्माण/निर्देशन पनि गर्नुभयो । वसन्त भने घरेलु बक्स अफिसमा निकै कमजोर ठहरियो ।

लोकगायक प्रकाश दुतराजले पनि चलचित्रमा पाइला टेक्नुभएको छ । ‘आहुति’ नामक चलचित्रमा दुतराज अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बनेर अभिनय गर्नुभएको छ । पहिलो चलचित्रमा डरसँगै रमाइलो अनुभव लिएको दुतराजको अनुभव छ । चलचित्रमा भवानी सङ्ग्रौलाको निर्माण तथा निर्देशन रहेको छ । चलचित्रको छायाङ्कन सकिए पनि प्रदर्शन मिति भने तय भएको छैन । दुतराजका ‘घर कता हो बैनीको’, ‘जाम भो माइली सरर’, ‘रिमै’, ‘छैन र माया’, ‘रेशम’, ‘मन भुल्छ’ जस्ता गीत चर्चित छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्