दानबिर बालकृष्ण दम्पतिद्वारा नेपाल घर अभियानका लागि पन्ध्र हजार युरो सहयोग
दिनेश गिरी, बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनएनए) स्पेनद्वारा सञ्चालन भइरहेको नेपाल घर निर्माण अभियान अन्तर्गत हालसम्मकै सबैभन्दा ठूलो व्यक्तिगत सहयोग प्राप्त भएको छ।
पाल्मा दे मायोर्कामा बसोबास गर्नुहुने आदरणीय बालकृष्ण तिवारी तथा रामकला तिवारीले नेपाल घर निर्माणका लागि €15,555 (पन्ध्र हजार पाँच सय पचपन्न युरो) एनआरएनएनएको आधिकारिक बैंक खातामा जम्मा गर्नुभएको छ। यो हालसम्म नेपाल घर अभियानमा प्राप्त सबैभन्दा ठूलो व्यक्तिगत सहयोग हो।
एनआरएनएनए स्पेनका अनुसार, उहाँहरूले कुनै पद, सम्मान वा विशेष सुविधा नखोजी केवल नेपाली समुदायको साझा सपना साकार पार्ने उद्देश्यले निस्वार्थ रूपमा यो सहयोग प्रदान गर्नुभएको हो। उहाँहरूको यो योगदानले नेपाल घर अभियानलाई आर्थिक रूपमा मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई प्रेरणा र आत्मविश्वाससमेत प्रदान गरेको संघको विश्वास छ।
हालसम्म नेपाल घर अभियानमा €345,486.04 सहयोग घोषणा भइसकेको छ भने €176,555.70 रकम एनआरएनएनएको बैंक खातामा प्राप्त भइसकेको छ। बाँकी प्रतिबद्ध सहयोग रकम क्रमशः प्राप्त हुने अपेक्षा गरिएको छ।
एनआरएनएनए स्पेनको हालै सम्पन्न विशेष संयुक्त बैठकले बैंक खातामा कम्तीमा €250,000 प्राप्त भएपछि मात्र करिब €500,000 लागतको नेपाल घर खरिदका लागि आरास (बैना) गर्ने निर्णय गरेको जनाएको छ।
यस अवसरमा एनआरएनएनए स्पेनले बालकृष्ण तिवारी तथा रामकला तिवारीप्रति हार्दिक सम्मान व्यक्त गर्दै, सहयोग गर्ने प्रतिबद्धता जनाइसक्नु भएका सम्पूर्ण महानुभावहरूलाई आफ्नो प्रतिबद्धता रकम यथाशीघ्र बैंक खातामा जम्मा गरिदिन आग्रह गरेको छ।
संघले नेपाल घर कुनै एक संस्था वा व्यक्तिको परियोजना नभई स्पेनमा रहेका सम्पूर्ण नेपाली समुदायको साझा सम्पत्ति र भावी पुस्ताका लागि स्थायी पहिचानको केन्द्र हुने विश्वास व्यक्त गरेको छ। त्यसैले यस अभियानलाई सफल बनाउन सबै नेपाली समुदायको सक्रिय साथ, सहयोग र सहभागिताका लागि पुनः हार्दिक अपिल गरिएको छ।