पर्सामा शनिबार बिहान ६ बजेसम्मका लागि पुनः निषेधाज्ञा जारी
वीरगन्ज। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै शान्ति, सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि पुनः निषेधाज्ञा जारी गरेको छ।
अघिल्लो दिन जारी गरिएको निषेधाज्ञाको अवधि सकिएपछि शुक्रबार दिउँसो विभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले पुनः निषेधाज्ञा आदेश जारी गरेको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम वीरगन्ज महानगरपालिकाका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटभित्रको चार किल्ला तोकेर निषेधाज्ञा लागू गरिएको छ।