समालोचक चूडामणि बन्धु र अभिनेतृ शकुन्तला शर्मा पुरस्कृत
काठमाडौँ । राजेन्द्र सुवेदी स्मृति समाजले २०८२ सालको ‘राजेन्द्र सुवेदी स्मृति साहित्य पुरस्कार’ समालोचक प्राडा चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली साहित्यको समालोचना, भाषाविज्ञान, अनुसन्धान तथा लोकसाहित्यका क्षेत्रमा बन्धुले पुर्याउनु भएको योगदानको कदरस्वरूप उहाँलाई पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ ।
त्यसै गरी २०८२ सालकै ‘राजेन्द्र सुवेदी स्मृति कला पुरस्कार’ अभिनेतृ शकुन्तला शर्मा गुरुङलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनयमार्फत उहाँले पु¥याउनुभएको योगदानको सम्मानस्वरूप पुरस्कार प्रदान गर्न लागिएको हो ।
समाजका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा बसेको बैठकले दुवै पुरस्कारको निर्णय गरेको हो । स्वर्गीय राजेन्द्र सुवेदीको जन्मजयन्तीको अवसर पारेर यही महिना आयोजना हुने समारोहमा पुरस्कार प्रदान गरिने छ । दुवै पुरस्कारको राशि जनही २२ हजार २२२ रुपियाँ रहेको छ ।