सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
काठमाडौँ । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने बताउनुभयो।
“विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ,” उहाँले भन्नुभयो।
पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै प्रश्न उठाउनुभयो। उहाँले सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवादसमेत दिनुभयो।
उहाँले सरकारले अझ जिम्मेवार, सक्रिय र संवेदनशील भएर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्नेमा जोड दिनुभयो। संसद्मा पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो।
“बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन। संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ,” उहाँले भन्नुभयो।
प्रचण्डले आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिएको जानकारी दिनुभयो।
उहाँले घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाह्य रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहनुपर्ने बताउनुभयो।
“यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,” उहाँले भन्नुभयो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने उहाँको धारणा थियो।
उहाँले सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो।