विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन नेपाली बेसबल टोली जापान जाने
काठमाडौं। ३२ औं विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ।
वल्र्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको आयोजनामा जुलाइ ३० देखि अगष्ट ७ तारिखसम्म हुने फेयरमा अभिनय श्रेष्ठ, संकल्प पौडेल, युएल रोक्का, भूमिका खड्का र खुशी श्रेष्ठले सहभागिता जनाउने छन् । प्रशिक्षकमा विपिन वज्राचार्य छन् । फेयरमा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने छ।
फेयरका दौरान सहभागीले क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेमको अवलोकन गर्ने अवसर पनि पाउने छन् । खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसंग मिलेर मैत्रीपूर्ण प्रतियोगिता पनि खेल्ने छन्।
नेपाल बेसबल तथा सफ्ट संघका अध्यक्ष दिपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउडेनसनले प्रायोजन गरेको बताए । उनका अुनसार सहभागी सबैलाई जनही करिब १ लाख रुपैयाँ बराबरको खेल सामाग्री र पोशाक पनि प्राप्त गर्ने छन्।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।