अनसनरत डा.केसी र सरकारीबीच दुई दिनदेखि निरन्तर वार्ता
सरकारले गेटामा तीन सय शय्याको शिक्षण अस्पताल र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाइरहँदा डा.केसी धनगढीमा अनसन बसेपछि समर्थन र विरोध भएको छ ।
धनगढी । अनसनरत डा.गोविन्द केसी र सरकारी टोलीबीच दुई दिनदेखि निरन्तर वार्ता भइरहेको छ ।
सेती प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा आइतबार मध्यान्हबाट शुरु भएको वार्ता सोमवार दिनभर चलेको छ । अहिले पनि दुई पक्षीय वार्ता जारी छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले वार्ता चलिरहेको बताउनुभयो । “हामी निरन्तर छलफलमा छौ, रिजल्ट आए जानकारी गराउँछौँ ।” उहाँले भन्नुभयो ।
निरन्तरको दुई पक्षीय वार्तामा डा.केसीका माग सम्बोधन बारे सकारात्मक छलफल भएको बताएको छ । वार्तामा प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र डा.केसीको तर्फबाट डा.अमृत जैशी, डा. पवन थापा सहभागी हुनुहुन्छ ।
साउन ७ गते धनगढीको श्रीकृष्ण मन्दिर धर्मशालामा अनसन शुरु गर्नुभएका डा.केसीलाई स्वास्थ्य अवस्था कमजोर देखिएपछि शनिवार सेती प्रादेशिक अस्पतालको आइसियुमा सारिएको थियो । डा.केसीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्ति खारेजी लगायतका पाँच बुँदे माग राख्नुभएको छ ।
सरकारले गेटामा तीन सय शय्याको शिक्षण अस्पताल र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाइरहँदा डा.केसी धनगढीमा अनसन बसेपछि समर्थन र विरोध भएको छ ।