राजनीति

सांसद् गणेश पौडेलमाथि कालो मसी प्रहार

रौतहट। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी दुर्व्यवहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा बिहीबार राति उहाँमाथि उक्त घटना भएको हो।

सांसद् पौडेलका अनुसार कार्यक्रम सकेर फर्किरहेका बेला मास्क लगाएका दुई–तीन जना व्यक्तिले पछाडिबाट आएर परिचितजस्तै गरी अँगालो हाल्ने बहानामा उहाँको पिठ्युँमा कालो मसीजस्तो पदार्थ खन्याएर फरार भएका थिए।

उहाँले भन्नुभयो, “हामी भेटघाट कार्यक्रम सकेर फर्किरहेका थियौँ। पछाडिबाट आएका व्यक्तिहरू नजिक आएर परिचितजस्तै व्यवहार गर्दै पिठ्युँमा कालो मसीजस्तो पदार्थ खन्याएर भागे।”

सांसद् पौडेलका अनुसार मसी प्रहार गर्ने समूहले हातमा रातो झण्डा र पर्चा बोकेको थियो। आफूलाई ‘मधेशी मुक्ति अभियान’का कार्यकर्ता बताउँदै उनीहरूले ‘मेचीदेखि महाकालीसम्मको भूभाग मधेशको हो’ भन्ने नारा लगाएका थिए।

स्थानीय नागरिकका समस्या तथा मलखाद अभावलगायत विषयमा छलफल गर्न आयोजित कार्यक्रम सकेर चन्द्रनिगाहपुर फर्किने क्रममा राति करिब ८ः१५ बजे घटना भएको हो। घटनापछि कार्यक्रममा सहभागी स्थानीयवासी र सहयोगीहरूले उनीहरूलाई पछ्याउने प्रयास गरेका थिए। तर अँध्यारोको फाइदा उठाउँदै उनीहरू नजिकैको उखुबारीतर्फ भाग्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य जनकराज भारतीले जानकारी दिनुभयो।

घटनालगत्तै प्रहरीलाई खबर गरिएको र संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। सांसद् पौडेलका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको छ। ‘फगु’ भनिने एक व्यक्तिको पहिचान भए पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको र उनीहरूलाई छिट्टै पक्राउ गरिने बताउनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्