काठमाडौँ । ‘मिस नेपाल २०२६’ को मुख्य स्पर्धा नजिकिँदै गर्दा प्रतिस्पर्धी सुन्दरीहरूले आफ्नो आन्तरिक कला र क्षमता प्रस्तुत गरेका छन्। मिस नेपालको आधिकारिक आयोजक संस्था ’दि हिडन ट्रेजर’ द्वारा बिहीबार ललितपुरमा आयोजित ’ट्यालेन्ट राउन्ड’ मा प्रतियोगीले आआफ्नो बेजोड प्रतिभा प्रदर्शन गरेका हुन्।
यस वर्षको अन्तिम स्पर्धाका लागि छनोट भएका २४ जना अन्तिम प्रतिस्पर्धी (फाइनलिस्ट)ले मञ्चमा संगीत, नृत्य, वक्तृत्वकला, कविता, चित्रकलाका साथै अन्य विविध रचनात्मक विधामा आफ्नो विशेष क्षमता देखाए। चिकित्सा, इन्जिनियरिङ, कानुन जस्ता बहुआयामिक पेसागत पृष्ठभूमि र देशका विभिन्न सहरबाट छनोट भई आएका सुन्दरीले आ–आफ्नो प्रस्तुतिमार्फत निर्णायक मण्डललाई प्रभावित पार्ने प्रयास गरेका थिए।
’ट्यालेन्ट राउन्ड’ अन्तर्गत उत्कृष्ट प्रस्तुति दिने विजेताको घोषणा आगामी साउन १६ गते शनिवार पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा गरिनेछ र विजेताले विधागत उपाधि प्राप्त गर्नेछन्।