खेलकुद

पोखरामा जेठ ३० देखि खेल सप्ताह हुने

पोखरा ।  पोखरामा यही जेठ ३० गतेदेखि ‘खेल सप्ताह’ हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित आउँदो असार ५ गतेसम्म ‘खेल सप्ताह’ हुने भएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताउनु भयो । 

खेल सप्ताहमा कुल सात वटा खेल समावेश गरिएका छन् । तीमध्ये दुई वटा राष्ट्रियस्तरका र पाँच वटा ग्रासरुट तहका प्रतियोगिता हुने भएको उहाँले जनाउनु भयो । राष्ट्रिय स्तरमा मुवाथाई र साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हक्की, फुल कन्ट्याक्ट कराँते, टेबलटेनिस लगायतका खेल ग्रासरुट तहमा सञ्चालन हुने तयारी गरिएको अध्यक्ष गोदारले बताउनु भयो ।

अध्यक्ष गोदारले ग्रासरुट तहका खेल प्रतियोगितामार्फत नयाँ खेलाडीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय स्तरमै रहेका सम्भावनायुक्त खेलाडीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गर्न लागिएको उहाँको दाबी छ ।

खेल सप्ताहको अवसरमा मार्सल आर्ट फेस्टिभलसहित अन्य खेलसम्बन्धी कार्यक्रमहरू आयोजना गरिने भएको समितिका सदस्य सचिव सुरज अधिकारीले बताउनु भयो । तयारीका क्रममा मङ्गलवार बसेको बैठकले विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको समितिले जनाएको छ ।

सदस्य सचिव अधिकारीका अनुसार चालु वर्षमा राष्ट्रपति रनिङ शिल्डसहित महानगरपालिकाको आयोजना तथा सहजीकरणमा विभिन्न खेलकुद गतिविधि सम्पन्न भए पनि ती कार्यक्रममार्फत समेटिन नसकेका केही खेललाई खेल सप्ताहमा समावेश गरिएको हो । यसले विविध खेल विधालाई प्रवद्र्धन गर्नुका साथै खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

खेल सप्ताहले पोखरामा खेल संस्कृतिको विकास, नयाँ प्रतिभाको खोजी तथा विभिन्न खेल संघ–संस्थाबीच समन्वय अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास समितिले लिएको छ । यसका अलावा राष्ट्रिय स्तरका प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्