कविता

मुसो

मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ।

टोकिरहन्छ अनवरत उसका दाँतहरुले
नयाँ कम्बल, कोठाभित्र का कागजहरु, दाल-चामलहरु
पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठहरु
उसले टोकेको आवाज म रातभरि सुन्दछु
र समात्न खोज्दछु उसको चिप्लो पुच्छर
भागेर लुकिहाल्छ पुरानो अलमारीको पल्लो कुनामा ।

मलाई डर लाग्न थालेको छ
इतिहासको त्यो सिंगो पातो उसले निल्नै आँटेको छ
जसबाट चिच्याएर हेर्छन् मेरा पूर्खाका वीरत्वहरु
गोर्कीकी आमा, टलस्टयकी अन्ना र लोर्काका कविताहरू
हेनरीको अन्तिम पातोतिर म एकोहोरो हेरिरहन्छु
नजिक पुग्नेबित्तिकै मलाई देखेर ऊ कुदिहाल्छ ।

तीखा दाँतहरु झन् विषालु भएका छन् उसका
विस्तारै चाट्न थाल्दैछ अनिंदा रातका पहरहरु
मेरो उपस्थितिलाई वास्ता नै नगरी
ऊ दगुरिरहन्छ यता र उता ।

दिनभरि बटुल्न थाल्छु उसले फ्याँकेका टुक्राहरू
लथालिङ्ग पारेर छोडेका पुस्तकका ठेलीहरु
अब फेरि कसरी पढ्न पाउनु
निलिसकेको सिंगो दलिलको रुपरेखा ।

म अझै खोज्दैछु मुसोलाई कोठाभित्र
जसरी भए पनि म उसलाई समात्ने कोशिशमा छु
यसबेला ऊ मेरो मुटुभित्र पसिसकेको रहेछ
अनि चबाइरहेको छ मेरो रातो कलेजो कुटु कुटु…..

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्