एक्सक्लुसीभ

‘जेन्जी’ आन्दोलनको मर्म कांग्रेसले संस्थागत गर्छ : उपसभापति शर्मा

फिदिम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा देखिएका सबै खाले समस्याको सन्तुलित व्यवस्थापन र समाधानका लागि कांग्रेसले सरकारको एकल नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीले पाँचथरको राँके बजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले सो कुरा बताउनुभएको हो । कांग्रेस सरकारको नेतृत्वमा रहे पनि वा नरहे पनि इतिहासका कठिन मोडमा निर्णायक भूमिका निर्वाह गरेको चर्चा गर्दै उहाँले ‘जेन्जी’ आन्दोलनले उठाएका मुद्दालाई निष्कर्षमा पुर्‍याउन आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउनुपर्ने जिकिर गर्नुभयो ।

स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा पर्याप्त काम भए पनि तिनले पूर्णता पाउन बाँकी रहेको उहाँको स्पष्ट पार्नुभयो । “नेपालले विश्वसँग प्रतिस्पर्धा गर्ने तहमा विकास र सुशासनमा फड्को मार्न नसके पनि कामै नभएको भने होइन,” उहाँले भन्नुभयो, “टोल–टोलमा सडक पुगेको छ, घर–घरमा मोबाइल र इन्टरनेटको पहुँच छ भने अस्पताल बनेका छन्, यी कामको हिस्सेदार कांग्रेस नै हो ।”

निर्वाचनमा पहिलो भएको पार्टीले सरकारको नेतृत्व गर्ने र दोस्रो तथा तेस्रो हुने दल प्रतिपक्षमा बस्ने परिपाटी संस्थागत हुन नसक्दा सरकार फेरबदल भइरहने उहाँको तर्क थियो । सरकार अस्थिर हुँदा विकास निर्माण र सुशासनमा असर पर्ने विगतको अभ्यासले पुष्टि गरिसकेकाले अब पहिलो हुने पार्टीले नै सरकारको नेतृत्व गर्ने प्रावधान राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

चुनावी सभालाई इलाम क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार भेषराज आचार्य, पाँचथरका उम्मेदवार नरेन्द्रकुमार केरुङ र समानुपातिक उम्मेदवार भीष्मराज आङ्देम्बे लगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.