राजनीति

एमाले ११ औं राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले ११ औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै केन्द्रीय कमिटीको बैठकले नयाँ नेतृत्वको व्यवस्थापन राष्ट्रिय ११ औं महाधिवेशनमार्फत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आगामी दिनमा समग्र नेतृत्वको पुनर्गठन, नयाँ नेतृत्व छनोट गर्ने आदि विषयको सन्दर्भमा मंसिर २७, २८ र २९ गते पोखरामा ११ औं महाधिवेशन गरेर पार्टी नेतृत्वलाई व्यवस्थित गर्नेगरी अगाडि बढ्ने निर्णय गरेको छ ।” उहाँले बैठकमा २२ वटा प्रस्ताव पारित भएको जानकारी दिनुभयो । बैठकले वर्तमान सरकार निर्वाचन गराउने बाटोतर्फ नभएको निस्कर्ष निकालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनको कार्यदेश प्राप्त गरेको सरकार निर्वाचनको बाटोतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्धत देखिन्छ । निर्वाचनको मूख्य पक्षका रुपमा दलहरुसँग परामर्श, सहकार्य गर्नुपर्नेमा सम्पर्क समेत गर्न चाहिरहेको छैन ।” उहाँका अनुसार बैठकले मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, “निर्वाचन पनि हुन नसक्ने, प्रतिनिधि सभा पनि कायम नरहने वर्तमान अवस्थाले राजनीतिक अस्थिरता र रिक्तताको भाव सिर्जना हुनाले नै नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्छ माग गर्छ । यसले मात्र मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता राख्छ ।”

उहाँले बैठकमा उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिनिधि सभाको पुनस्र्थापनाको विषयलाई प्रचारात्मक बनाउनु पर्ने विषयमा राय राख्नुभयो । त्यसमा अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समर्थन गर्नुभएको उहाँले जानकारी दिनुभयो । एमाले बैठक असोज २९ देखि ३१ गतेसम्म ललितपुरमा आयोजना भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.