खेलकुद

एसियन कप छनोट : भियतनामसँग खेल्ने फुटबल टोलीको बिदाइ

काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार खेलाडीको बिदाइ गरेको हो । छनोटको समूह ‘एफ’ मा रहेको नेपालले भियतनामसँग अक्टोबर ९ र १४ मा पहिलो र दोस्रो लेग खेल्ने तालिका छ ।

अक्टोबर १४ को दोस्रो लेग नेपालमा हुनुपर्ने थियो । तर, काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो खेल पनि भियतनामकै मैदानमा खेल्न लागेको हो ।

नेपाली टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा पदाधिकारीबाट बिदाइ गरियो । नेपाली टोली मङ्गलबार भियतनाम प्रस्थान गर्नेछ ।

भियतनामसँगको खेलमा लागि आइतबार नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले अन्तिम २३ सदस्यीय खेलाडीको घोषणा गरिसक्नुभएको छ । बन्द प्रशिक्षणमा रहेका ३३ खेलाडीको सुचीबाट अन्तिम टोली सार्वजनिक गरिएको हो ।

समूहमा नेपालले लाओससँग २–१ र मलेसियासँग २–० गोलको हार खेपिसकेको छ । लगातार दुई हारसँगै नेपाल अङ्क तातिकाको अन्तिममा छ । समूहको शीर्ष टोली सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुनेछ ।

नेपाली टोली

कप्तान किरणकुमार लिम्बु (गोलरक्षक), विशाल सुनार (गोलरक्षक), दीप कार्की (गोलरक्षक), अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, दिनेश हेन्जन, जिलेस्पी जङ कार्की, कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.