एक्सक्लुसीभ

बढ्दो भ्रष्टाचार र सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णय बिरुद्ध जेनजी आन्दोलन

काठमाडौं । सत्ता र पुराना राजनीतिक दलसंग असन्तुष्ट पुस्ता माइतीघर मण्डला हुदै संसद् भवन अगाडि प्रदर्शन गर्ने तयारीमा जुटेको छ । सरकार र अदालतले सामाजिक सञ्जाल बन्द गर्ने निरान्य गरेपछि आक्रोशित नयाँ पुस्ताले आन्दोलनको घोषणा गरेको हो ।

उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला भएर आन्दोलन घोषणा गर्ने तयारी गरेका छन् । तर आन्दोलनको नेतृत्व कसले गरेको छ सार्वजनिक छैन ।

सामाजिक संजाल टिकटकदेखि इन्स्टा र फेसबुक सम्म ट्रेण्डिङ्गमा रहेको यो आन्दोलनको पहिलो चरणमा नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिरहेका छन् ।

‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ आन्दोलन कति लामो जान्छ वा सामाजिक सञ्जालमा प्रचार भएजस्तो होला नहोला तर सामाजिक सञ्जाल बन्द भएको यो अवस्थामा सञ्जालबाटै घोषणा भएको आन्दोलन प्रति अधिकांसको सकारात्मक प्रभाव परेको छ । पुराना पुस्ताका नागरिकले पनि जेनजीको यो आन्दोलनलाई समर्थन जनाइरहेका छन् ।

राजनीतिक विश्लेषकहरुका अनुसार यो आन्दोलन कसरी अघि बढ्छ भन्ने कुराले नेपालमा नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तर र राजनतिक प्रभावलाई मुल्यांकन गर्नेछ ।

सामाजिक सञ्जालमार्फत सुरु भएको आवाजले सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर, पोखराको सभागृह हलदेखि देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने घोषणा सम्मको स्थितिमा आइपुगेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतमा पनि इनरुवा, धरानजस्ता सहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरेको छ। स्वतस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ लगायतका नारा अगाडी सारेको छ ।

पछिल्ला आक्रोशलाई हेर्दा विशेषगरी सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारलाई लिएर उनीहरू असन्तुष्ट देखिन्छन् ।

युवा पुस्ताको आन्दोनलाई स्टार्टअप उद्यमीहरुले पनि साथ दिइरहेका छन् । राइड सेयरिङ प्ल्याटफर्म पठाओका संस्थापक सीईओ असिममान सिंहले पनि टिकटकमा आह्वान गरेका छन्, ‘८४ सम्मको लागि कुर्ने हैन परिवर्तनको लागि । डिजिटल उपस्थिति जति महत्वपूर्ण छ, भौतिक उपस्थिति आवश्यक छ । त्यसैले म आफैँ सोमबार आन्दोलनमा आउँछु । तपाईंहरुलाई पनि आउन आह्वान गर्छु ।’

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायतका पोष्टहरुमा पनि यो अभियानले व्यापकता पाएको छ । त्यसमा एउटा पोस्ट राखिएको छ, जसमा सबैलाई रिपोस्ट गर्न अनुरोध गरिएको छ । यसरी पोस्ट गरिएका स्टोरीमा जाँदा ‘एड योर्स’ भन्ने बटन देखिन्छ । त्यसमा थिचेपछि आफ्नो फेसबुक स्टोरीमा पनि सोही कुरा पोस्ट हुन्छ ।

उक्त पोस्टमा लेखिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रताको जति नै गफ दिएपनि नेताहरु हाम्रो आवाज दबाउन चाहन्छन् । हुँदाहुँदा अहिले आएर सामाजिक सञ्जाल नै बन्द गरिदिए । कस्तो लाजमर्दो । अब हामी चुप बस्दैनौँ– इनफ इज इनफ ।’

सामाजिक सञ्जाल हेर्दा विशेषगरी पुराना दलका नेताका सन्तानको विलाशी जीवन शैली र अपराध पार्टी लक्षित गरिएको देखिन्छ । सामाजिक संजालका पोष्टहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, डा. बाबुराम भट्टराई र उनीहरुका सन्तानलाई लक्षित गरिएको छ ।

प्रचण्डकी नातिनी स्मिता दाहाल, देउवापुत्र जयवीर देउवालगातका तस्वीर र उनीहरु प्रति युवा पुस्ताको आक्रोस अभिव्यक्त भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.