इमिग्रेशन अपडेट

मंगलबार अमेरिकाबाट ३७ नेपाली डिपोर्टः बुधबार अपरान्ह ३ बजे काठमाडौं पुग्ने

लस-एन्जलस । अमेरिकाले मंगलबार ३७ जना नेपालीलाई डिपोर्ट गर्ने भएको छ । अध्यागमन स्रोतका अनुसार डिपोर्ट हुनेमा ३५ पुरुष र २ महिला रहेका छन्। डिपोर्ट गरिएका ३७ जना भोली बुधबार नेपाल पुग्ने छन् ।

ओम्नी एयरको चार्टर विमान, उडान नम्बर ‘एन ८२८ एक्स’ मार्फत उनीहरूलाई नेपाल पठाइएको हो । नेपाली समय अनुसार बुधबार उनीहरू अपरान्ह ३:०० बजे नेपाल पुग्ने अनुमान छ ।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकामा उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरुलाई वासिङ्टन डीसीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।

डिपोर्ट हुनेहरूमा दाङ, पश्चिम रुकुम, पूर्वी रुकुम, सल्यान, म्याग्दी, पर्वत, बाँके, रोल्पा, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौं, जाजरकोट, दोलखा, कास्की, कैलाली, कञ्चनपुरका नेपाली नागरिक हुन् ।

यसैगरी गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका नेपाली नागरिक समेत डिपोर्ट भएका छन्।

अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेमा सबैभन्दा धेरै दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका रहेका छन्।

डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भई जनवरी २०, २०२५ मा पदभार ग्रहण गरेपछि अगस्ट महिनाको अन्त्यसम्ममा २१५ जना नेपाली डिपोर्ट भइसकेका छन्। अगस्ट महिनामा १६ जनामात्र नेपाली डिपोर्ट भएका छन्, जसमा १ जना महिला र १५ जना पुरुष छन्।

सन् २०२५ को जनवरी २० देखि जून ३० सम्ममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता कुल २१५ जना नेपाली डिपोर्ट भएको तथ्यांक छ जस मध्ये १९७ जना पुरुष र १८ महिला छन् ।

टीपीएस बाहक पनि डिपोर्ट हुने सुचिमा
नेपालीको टीपीएस समाप्त भइसकेकाले यो संख्या आगामी दिनमा बढ्ने अनुमान गरिएको छ किनभने अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका झण्डै १५ सय नेपालीहरु टीपीएसबाट संरक्षित छन् ।

उनीहरुको टीपीएस अगस्त २० मा समाप्त भइसकेकाले अमेरिकी अध्यागमनले उनीहरुलाई पक्राउ गरेको खण्डमा सिधै डिपोर्ट गर्न सक्छ ।

त्यस्तै विगतमा टीपीएसले नसमेटेका झण्डै १५ सय नेपालीहरु पनि देशनिकालाको आदेश पाइसकेपछि अमेरिकामा नै बसिरहेको तथ्यांक हालै आइसले सार्वजनिक गरेको छ ।

ट्रम्पको दोस्रो कार्यकाल सुरुसंगै देशनिकाला नीतिमा थप कडाइ गरिएको छ। वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित यो नीतिका कारण ठूलो संख्यामा नेपालीहरू देशनिकालाको जोखिममा परेका हुन् ।

नेपालीको टीपीएस र त्यसका आधारमा प्राप्त वर्क परमिट अगस्त २० पछि अमान्य भएको युएससीआईएसले जनाएको छ । अमेरिकामा झण्डै ७ हजार नेपालीहरु टीपीएसमा संरक्षित रहेका छन् ।

नेपालले डिपोर्ट हुने आफ्ना नागरिकहरूलाई सहज रूपमा स्वीकार गर्दै आएको छ। वासिङ्टन डीसीस्थित नेपाली दूतावासले यस प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। अमेरिकी अध्यागमनले देशनिकालामा परेका नेपालीका लागि ट्राभल डकुमेन्ट अनुरोध गरेपछि दूतावासले सहजै कागजात उपलब्ध गराउँदै आएको छ।

सन् २०२५ मा डिपोर्ट हुने नेपालीको संख्या उल्लेखनीय रूपमा बढेसँगै नेपाली समुदायमा चिन्ता बढेको छ। टीपीएस समाप्ति भएमा र कडा आप्रवासन नीतिहरूले यो समस्या थप जटिल बनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.