राजनीति

नेपालको सहमति बिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : एमाले महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताउनुभएको छ । शनिबार घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट उल्लेख गर्दै सहमति विना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य भएको बताउनुभयो ।

‘‘दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति बिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ,’’ उहाँले भन्नुभयो, ‘‘नेपालको सहमति र सहभागिता बिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ । तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ।’’

सुगौली सन्धी सन् १८१६ तिरको सिमानै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको उहाँले बताउनुभयो । सरकारको कार्यक्षमता र उपलब्धिबारे बोल्दै पोखरेलले भन्नुभयो, ‘‘अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ । राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजनाहरू अघि बढेका छन् र सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन् ।’’

यसैबीच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिनुभयो । महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो । उहाँको अनुसार साढे ६ लाख सदस्य छलफलमा सहभागी हुने छन् ।

यस्तै उहाँले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनितीमा आउनु उचित नरहेको बताउनुभयो । पूर्व राष्ट्रपति जस्तो सम्मानित व्यक्तिलाई कुनै गतिविधि गर्न नदिएर घर भित्रै बन्धक बनाउनुहुँदैन उहाँले भन्नुभयोे, ‘‘सामाजिक रूपमा सक्रिय हुन कुनै रोकटाेक छैन । सामाजिक जीवनका क्रियाकलापमा आउनै हुन्न भन्ने होइन, बन्धक नै बस्नुपर्छ भन्नै छैन ।’’

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.