अर्थ

लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अपरसुवा जलविद्युत् परियोजनाका लागि रु आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।

लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आज सम्पन्न बोर्डको ६५औँ बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी, वित्तीय ढाँचालगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेस गर्ने कार्यका लागि प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालनसम्बन्धी परियोजना र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गर्न तथा सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने अख्तियारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई दिने निर्णय गरेको छ ।

त्यसैगरी, नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विद्युत् प्रसारण लाइनको नयाँ रुट ‘अलाइनमेन्ट’को सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्द्धक कम्पनी कर्णाली ट्रान्समिसन कम्पनी प्रालिलाई सहमति प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.