अर्थ

साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

काठमाडौँ । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूको श्रम वैधानिकिकरण सुरु भएको छ ।

आज रियादस्थित नेपाली दूतावासले आयोजना गरेको एक समारोहमा आठ वर्षदेखि रियादमा कार्यरत अजय दङ्गालको बायोमेट्रिक लिएर राजदूत डा नरेश विक्रम ढकालले श्रम वैधानिकिकरण औपचारिक रूपमा सुरु गर्नुभयो ।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले श्रम स्वीकृति बिना विदेशमा काम गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयास सराहनीय भएको बताउनुभयो ।

श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारमा रहेका श्रमिक स्वदेश फर्किन नसक्ने नभएकाले वैधानिकिकरण अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले दूतावासले दिने आगामी सेवा प्रविधिमा आधारित हुने बताउनुभयो ।

राजदूत डा ढकालले श्रम वैधानिकिकरणलाई अभियानकै रूपमा सञ्चालन गरिने बताउनुभयो । उहाँले यस कार्यमा विभिन्न सङ्घ संस्थाहरूको समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।

राजदूत डा ढकालका अनुसार सन् २०२४ सेप्टेम्बर ३० भन्दा अघि वैदेशिक रोजगारीका लागि साउदी अरबियामा आएका नेपाली श्रमिकहरूले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.