मनोरंजन

इन्दिरा घिमिरेलाई मिसेस ग्लोबल नेपाल–२०२५ को ताज

काठमाडौँ । यो वर्षको मिसेस ग्लोबल नेपालको ताज इन्दिरा घिमिरेले पहिरिन सफल हुनुभएको छ । बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा घिमिरेले निर्णायकको प्रश्नको सटीक उत्तर दिँदै ताज पहिरिन सफल हुनुभएको हो । ताजसँगै उहाँले एन.एफ.इ.ए. लण्डन २०२६ मा सहभागी हुन इन्ट्री प्याकेजसमेत प्राप्त गर्नुभएको छ ।

कार्यक्रमको फर्स्ट रनर अप सन्ध्या नेपाल तथा सेकेण्ड रनर अप सृजना घिमिरे शिवाकोटी हुन सफल हुनुभएको छ । हिमालयन मुभिजको आयोजनामा सम्पन्न कार्यक्रम मिसेस ग्लोबल शृङ्खलाअन्तर्गत आठौं संस्करण हो ।

करिब एक दर्जन बढी प्रतियोगीहरुले प्रस्तुति दिएको सो कार्यक्रममा सबै प्रतियोगीहरुले परिचय, बेस्ट ड्रेस, प्रश्नोत्तर, क्राउनिङ चरण पार गर्दै उपाधि नजिक पुगेका थिए । महिलाहरुको सौन्दर्य प्रतियोगितामा अग्रणी रहेकी चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा तीन सातासम्म प्रतियोगीहरुले व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, फोटोसुट, क्याटवाक, बाैद्धिकताको विकास, क्षमता अभिवृद्धि, सामाजिक प्रस्तुतीकरणलगायतका विषयमा ज्ञान हासिल गरेका थिए । आकर्षक ओपनिङ नृत्यबाट सुरु भएको कार्यक्रम ब्युटी विथ नेचर थिम रहेको बेस्ट ड्रेस, प्रश्नोत्तर, टप फाइभ हुँदै क्राउनिङ चरणमा सकिएको थियो ।

कार्यक्रमको बीचमा कलाकारहरुको प्रस्तुतिले दर्शकहरु आनन्द मानिरहेका थिए भने कोरियोग्राफर सुब्बाको विशेष क्याटवाकमा हुटिङ नै चलेको थियो ।

विविध सबटाइटल अवार्डसमेत बाँडिएको सो कार्यक्रममा मोस्ट एट्राक्टिभ इन्दिरा घिमिरे, मोस्ट डाइनामिक आशा घर्ती क्षेत्री, मोस्ट स्मार्ट लक्ष्मी खड्का राई, मोस्ट चार्मिङ कल्याणी देवी थापा, मोस्ट कन्फिडेन्ट सृजना घिमिरे शिवाकोटी, मोस्ट प्यासोनेट दिया बर्देबा, मोस्ट याक्टिभ रीता चौधरी, मोस्ट डिसेन्ट उमाकुमारी तामाङ, बेस्ट पर्सनालिटी मीना श्रेष्ठ, बेस्ट ट्यालेन्ट सन्ध्या नेपाल, बेस्ट फोटोजेनिक तारा तण्डुकार, मोस्ट डिलाइटफुल कविता अधिकारी, मोस्ट डिलिजेन्ट बिमला अधिकारी, मोस्ट डेडिकेटेड मञ्जु राई एवम् मोस्ट पपुलर तारा तण्डुकार, पब्लिक च्वाइस भिडियो रीता चौधरी, बेस्ट मल्टिमिडिया  सन्ध्या नेपाल र बेस्ट ड्रेस रीता चौधरीले जित्न सफल हुनुभएको हो ।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा इभेन्टकर्मी एसराज गराच, नायक तथा निर्देशक मनीष राउत, क्यापिटल क्विन नेपाल २०२५ एवम् फेसन डिजाइनर करुणा भुजेल, मिसेस मङ्गोल नेपाल २०२३ सरिता गुरुङ र कस्मेटोलोजिस्ट युनिषा शाही रहनुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.