राजनीति

तत्काल संविधान संशोधनको प्रक्रिया सुरु गरौं : कांग्रेस नेता डा. शेखर कोइराला

स्याङ्जा । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् नेता डा. शेखर कोइरालाले तत्कालै संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने बताउनु भएको छ । कांग्रेस र एमाले मिल्नुको औचित्य पुष्टि गर्न संविधान संशोधनको प्रक्रिया सुरु हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

स्याङ्जाको भीरकोटमा कमलप्रसाद पंगेनीको ७ औं स्मृति सभालाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले भन्नुभयो, “सरकार बनेको एक वर्ष भइसक्यो, अब बोलेका कुरा पूरा गर्न ढिला गर्न हुँदैन ।” सरकारको ढिलाइले जनमानसमा व्यवस्थाप्रति आक्रोश बढाएको उहाँको दाबी छ ।

दलका नेताहरुको भ्रष्टाचारमा नाम जोडिदा नागरिक आक्रोशित भएको भन्दै नेता कोइरालाले राजनीतिमा नैतिकता हराएको बताउनुभयो ।

पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिँदै नेता डा. कोइरालाले समयमै महाधिवेशन हुनुपर्ने बताउनुभयो । समयमा अधिवेशन हुन सकेमा वडा तहसम्म क्रियाशिल हुने र पार्टी जीवन्त बन्ने उहाँको भनाइ छ ।

स्मृति सभामा बोल्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री भिष्मराज आङ्दाबेले कांग्रेस नागरिकको पार्टी भएको बताउनुभयो ।

कांग्रेस स्याङ्जाका तत्कालिन सभापति तथा संविधानसभा सदस्य स्वर्गीय कमलप्रसाद पंगेनीको ७ औं स्मृति सभा तथा पंगेनीको नाममा खोलिएको स्मृति प्रतिष्ठानको अधिवेशनमा भाग लिन केन्द्रका नेताहरु जिल्लामा आइपुगेका थिए ।

पंगेनीको २०७५ साउन २० गते हृदयघात भई निधन भएको थियो ।

स्वर्गीय पंगेनीको स्मृति सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, सरस्वती तिवारी, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापतिद्वय कल्पना तिवारी, मेखलाल श्रेष्ठ, कांग्रेस कास्कीका नेता यज्ञबहादुर थापा, कांग्रेस तनहुँका नेता रघुनाथ पौडेलले स्वर्गीय कमल पंगेनीले कांग्रेसका सङ्गठनमा पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो ।

त्यस अवसरमा नेपाली कांग्रेस स्याङ्जाका सभापति तथा सङ्घीय संसद राजु थापा, उपसभापति तथा कार्यबहाक सभापति केदार काफ्ले, गण्डकी प्रदेश सांसद तथा नेपाली कांग्रेस स्याङ्जाका नेता भोजराज अर्याल, पूर्व कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, कांग्रेसका महासमिति सदस्य छायाँराम खनाल, भरतप्रसाद लम्साल, विष्णु पौडेल, देबी अर्याल, भीरकोट नगर सभपाति यामप्रसाद अधिकारी ‘लक्ष्मण’, स्वर्गीय पंगेनीका दाजु लिला पंगेनी र नेपाली कांग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिका सभापति देबीप्रसाद अर्याल, सचिव दामोदर लम्साल लगायतले बोल्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.