एक्सक्लुसीभ

मिटरब्याज र किर्ते अभियोगमा भुसाल र खरेल थुनामा

नवलपुर । मिटर ब्याज, ठगी, जालसाजी र किर्ते गरेको अभियोगमा दुई जनालाई नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश प्रकाश कोइरालाको इजलासले कावासोती नगरपालिका–२ इन्द्र चोकका अमृत भुसाल र किर्ते हस्ताक्षर गरी बैङ्कबाट रकम निकाल्न सहयोग गर्ने प्रभु बैङ्क (साबिक सेन्चुरी विकास बैङ्क) चोरमारा शाखाका प्रमुख राजेश खरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेष्तेदार गम्भीर घिमिरेले जानकारी दिनुभयो ।

मध्यविन्दु नगरपालिका–७ मा रामप्रसाद महतोको जाहेरीका आधारमा भुसाल, भुसालकी श्रीमती सविता काफ्ले, खरेल र लक्ष्मी सनराइज बैङ्क, चितवनमा कार्यरत सविता अर्यालविरुद्ध मिटर ब्याज, हस्ताक्षर किर्ते, जालसाजी र ठगीको कसुरमा साउन ११ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सोही मुद्दाका अभियुक्त भुसालकी श्रीमती सविता काफ्ले र लक्ष्मी सनराइज बैङ्क, चितवनमा कार्यरत सविता अर्याल भने फरार रहेको प्रहरीले जनाएको छ । भुसालले महतोलाई ३६ लाख रुपियाँ दिएर दुई करोड एक लाख ६६ हजार ५११ रुपियाँ असुली गरेको र रामप्रसादकी श्रीमती रिता महतोको नाममा रहेको मध्यविन्दु–७ को चार कट्ठा छ धुर जग्गासमेत भुसालले आफ्नी श्रीमती सविताको नाममा गराएको अभियोग छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार २०७६ जेठमा रामप्रसाद महतोले व्यापार गर्न भनेर अमृत भुसालबाट प्रतिदिन १५ हजार रुपियाँ ब्याज तिर्ने गरी १० लाख रुपियाँ लिनुभएको थियो । त्यसमा ४० लाख थपिदिएर ५० लाख पुर्याइदिने र मासिक पाँच लाख रुपियाँका दरले ब्याज बुझाउने सर्त थियो । त्यही सर्त मन्जुर गरेर महतोले मध्यविन्दु–७ को चार कट्ठा छ धुर जग्गा भुसाललाई दृष्टि बन्धक गरिदिनुभएको थियो । भुसालले उक्त जग्गा आफ्नी श्रीमती सविता काफ्लेको नाममा लिखत पारित गराउनुभयो ।

५० लाख पुर्‍याइदिने सर्त भए पनि भुसालले सुरुमा १० लाख, २०७६ असार २ गते १६ लाख ५४ हजार ६६२ रुपियाँ र अन्तिम पटक १० लाख गरी जम्मा ३६ लाख ५४ हजार ६६२ रुपियाँ मात्र महतोलाई दिएको प्रमाणले देखिएको ढकालले बताउनुभयो ।

महतोले भुसाललाई निरन्तर ब्याज बुझाउनुपर्ने थियो तर कोरोना सुरु भइसकेपछि ब्याज बुझाउन नसक्दा महतोले छ महिनापछि भुसाललाई ३० लाखको चेक दिनुभयो । प्रहरीका अनुसार पुनः पाँच महिनापछि ६० लाख पुगिसक्यो भनेर भुसालले पहिलाको ३० लाखको चेक फिर्ता नगरी डर त्रास देखाई फेरि ६० लाखको चेक लिएको प्रमाणहरूले देखाएको ढकालको भनाइ छ ।

महतोले सापटी लिएको रकम र सोको मिटर ब्याजसमेत जोडी ५० लाख पुग्यो भनिएको रकमको चक्रवर्ती ब्याजसहित पटक पटक गरी एक करोड ५७ लाख १५ हजार ४११ बैङ्क चेकबाट तथा ४४ लाख ५१ हजार एक सय रुपियाँ नगद गरी दुई करोड एक लाख ६६ हजार ५११ रुपियाँ भुक्तानी भुसालले लिएको प्रमाणहरूले देखाएको प्रहरीको दाबी छ ।

भुसालले रामप्रसादलाई ६९ लाख रुपियाँ बैङ्कमा रकम जम्मा गरेको र दुई मिनेटको अन्तरमा महतोका चार वटा चेक प्रयोग गरी भुसाल स्वयंले रामप्रसाद र श्रीमती रिता महतोको नाममा आफैँ चेक काटी आफैँले रकम लिएको देखिएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

यसरी किर्ते हस्ताक्षरबाट रकम निकाल्न बैङ्कका कर्मचारीहरू खरेल र अर्यालले सहयोग गरेको प्रहरीको भनाइ छ । चेकबाट पैसा निकाल्ने क्रममा भुसालले महतो र उहाँकी श्रीमतीको नक्कली हस्ताक्षर गरेको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भइसकेको समेत ढकालले बताउनुभयो ।

मिटर ब्याजको आरोपमा भुसाल गत साउन २७ गते पक्राउ परी २४ दिनपछि हाजिरी जमानीमा छोड्न अदालतले आदेश दिएको थियो । पछि प्रहरीले प्रतिवेदन बुझाउँदा पूरक अनुसन्धान गर्नु पर्ने भन्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रहरीको प्रतिवेदन बुझ्न मानेको थिएन ।

गत साउन २७ गते गोरखा पत्रले ‘रोकिएन मिटर ब्याजको शोषण, ३६ लाख दिएर दुई करोड असुली’ शीर्षकमा समाचार छापेको थियो । त्यसपछि प्रहरी निरन्तर प्रमाणहरू सङ्कलनमा जुटेको थियो । झन्डै एक वर्ष लगाएर पूरक अनुसन्धान गरी थप प्रमाणसहित मुद्दा दायर भएको ढकालले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.