अर्थ

रावा बैङ्कका अध्यक्ष देवकुमार ढकालद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणअघि अध्यक्ष ढकालले नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैङ्कको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैङ्किङ प्रशासन तथा नियमन प्रणाली विषयका जानकार हुनुहुन्छ । नवनियुक्त अध्यक्ष ढकाललाई बैङ्क सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, बैङ्कका व्यवस्थापन समितिका पदाधिकारीहरू, कम्पनी सचिव प्रमोद अधिकारी एवं प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीले स्वागत गर्नुभएको थियो ।

यसैबिच राष्ट्रिय वाणिज्य बैङ्कले ऊर्जा दक्षता उपाय अपनाउने १० उद्योगलाई आर्थिक अनुदान वितरण गरेको छ ।

उक्त बैङ्कले पहिलो चरणमा ऊर्जा अडिटमार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचतका उपाय कार्यान्वयन गरेका १० वटा उद्योगलाई करिब दुई करोड ९० लाख रुपियाँ अनुदान प्रदान गरेको हो । पहिलो चरणको अनुदान वितरणसँगै रिप ग्रिन अनुदान सुविधा औपचारिक रूपमा सुरु भएको हो ।

ऊर्जा बचतका उपायबाट दीर्घकालीन रूपमा वार्षिक झन्डै ३६ हजार ७८८ मेगावाट घण्टा ऊर्जा बचत हुने अपेक्षा गरिएको र यसबाट नेपालको जलवायु प्रतिबद्धता तथा दिगो औद्योगिक विकासमा पनि योगदान पु¥याउने बैङ्कले जनाएको छ ।

यो अनुदान कार्यक्रम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित छ । परियोजना युरोपेली सङ्घ र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ ।

कार्यक्रम अन्तर्गत स्थानीय ऊर्जा अडिटरद्वारा सिफारिस गरिएका उपायको कार्यान्वयनका लागि लगानी लागतको आंशिक हिस्सा अनुदानस्वरूप प्रदान गरिन्छ । यो परियोजनाले ऊर्जा दक्षता, मर्यादित श्रम अभ्यास तथा वातावरणीय मापदण्डको पालना सुनिश्चित गर्न प्राथमिकता दिँदै आएको छ ।

यसबाट नेपालका औद्योगिक क्षेत्रमा सफा तथा दक्ष प्रविधिको प्रयोगलाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ । अनुदान प्रदान गर्दै राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले अनुदान व्यवस्थाबाट नेपालमा दिगो औद्योगिक अभ्यासको प्रवर्धनमा महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.