नेपाल

मुन्धुम स्थलमा आयोजना निर्माण गरेको भन्दै माथिल्लो तमोर निर्माण रोक्न माग

ताप्लेजुङ । ताप्लेजुङस्थित माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले प्रदर्शन गरेका छन् । निर्माणाधीन आयोजनाको काम रोक्नुपर्ने माग गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शुक्रवार प्रदर्शन गरेका हुन् । 

याक्थुङ (लिम्बू) समुदायको मुन्धुम स्थलमा जबरजस्ती आयोजना निर्माण गर्न सुरु गरिएकोभन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समिति नै गठन गरेर सुरुदेखि नै विरोध गर्दै आएका हुन् । सङ्घीय सरकारसहित विभिन्न निकायमा ज्ञापन पत्र र ध्यानाकर्षण पत्रमार्फत जलविद्युत आयोजनाको काम रोक्नुपर्ने माग आएको सङ्घर्ष समितिले जनाएको छ ।

मुन्धुम स्थलको अस्तित्वमाथि क्षति हुने भएकाले विभिन्न ज्ञापन पत्र, ध्यानाकर्षण पत्र लगायतका माध्यममार्फत आयोजनाको काम रोक्न अनुरोधसहित माग गर्दा पनि काम नरोकिएकाले आन्दोलनमै उत्रन बाध्य भएको सङ्घर्ष समितिका श्री लिङ्खिमले बताउनुभयो । शुक्रवार भएको आयोजनाको विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्नुहुँदै लिङ्खिमले शुक्रवारसमेत पाँच पटकसम्म निर्माण स्थलमै आयोजनाको विरोधमा प्रदर्शन गरिएको बताउनुभयो ।

उहाँले अब पनि निर्माणको कामलाई निरन्तरता दिएमा हालसम्म भई रहेको शान्तिपूर्ण आन्दोलनको स्वरूप परिवर्तन हुने चेतावनी दिनुभयो । स्वरूप परिवर्तनपछि हुने आन्दोलनबाट कुनै क्षति हुन पुगेमा सरकार र सम्बन्धित पक्षले बेहोर्नुपर्ने उहाँको भनाइ छ । यस्तै सङ्घर्ष समितिका संयोजक बिरबल लिङ्खिमले पनि आयोजनाको काम नरोकिएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

याक्थुङ समुदायको मुन्धुम क्षेत्र तथा स्थल भएकाले आयोजना निर्माण गर्न नहुने अडानसहित प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित हुँदै आएको लिङ्खिमको भनाइ छ । मुन्धुम स्थलको अतिक्रमण गरी जलविद्युत आयोजना निर्माण गर्दा मौलिक सभ्यता र संस्कृति मासिने भएकाले मुन्धुम स्थलको संरक्षण गर्न आफूहरू लागिपरेको उहाँले बताउनुभयो ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका भई बग्ने तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने गरी निर्माणको काम सुरु गरिएको हो । यता शुक्रवार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले गरेको विरोध प्रदर्शनमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.