रोसी खोलामा जलसतह खतराको तहभन्दा माथि पुग्यो
बनेपा। काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा भइरहेको निरन्तर वर्षाका कारण पनौती भएर बग्ने रोसी खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजे रोसी खोलाको जलसतहले खतराको तह पार गरेको जनाएको छ । केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजे रोसी खोलाको जलसतह ४ दशमलव ५०७ मिटर र पानीको सतह स्थिर रहेको उल्लेख गरेको छ ।
रोसी खोलामा पानीको सतह निरन्तर उकालो लागेपछि तल्लो तटीय क्षेत्र तथा आसपासका बस्तीहरूमा कटान र बाढीको जोखिम बढेको छ । रोसी खोलामा पानी सतहले खतराको तह पार गरेपछि जिल्ला प्रशासन कार्यालयले विशेषगरी रोसी गाउँपालिका, पनौती, नमोबुद्ध नगरपालिका लगायत बिपी राजमार्ग आसपासका नदी किनार क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले रोसी खोलामा जलसतह बढेसँगै खोला आसपासका मानिसहरु टिकटक बनाउने, रिल्स तथा फोटो, भिडियोको लागि खोला छेउमा गएका फोटो तथा भिडियो सार्वजनिक भएकोले खोला छेउमा नजान आग्रह गर्नुभएको छ । उहाँले खोलामा आउने बाढीले क्षति गर्न सक्ने भएकोले सुरक्षा निकायले माइकिङ मार्फत सचेतना फैलाउने काम गरिरहेको बताउनुभयो ।