नेपाल

लोमन्थाङमा ५.३ रेक्टर स्केलको भूकम्पः झड्का, ३५ घरमा तत्काल बस्न नमिल्ने

मुस्ताङ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३, फुवाका पन्चोक गुरुङको घर भूकम्पले भत्किएको छ । मङ्गलबार राति लोमन्थाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले गुरुङको घरमा पूर्ण क्षति पुगेको हो । गुरुङजस्तै लोमन्थाङ–३, किमलिङका कुङ्गा गुरुङको घरमा पनि चिरा परेको छ ।

भूकम्पबाट फुवा गाउँका कुल १७ घरधुरीमध्ये पाँच घरधुरी बस्नै नहुने गरी चर्किएका छन् भने अन्य घरधुरीमा आंशिक र सामान्य क्षति पुगेको लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्वु गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “चर्केर बस्नै नमिल्ने अवस्थाका घर धेरै छन् । थप विवरण सङ्कलन हुँदै छ । माटोका घरमा धेरै क्षति भएको छ ।”

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार हालसम्म ३५ घरधुरी तत्काल बस्न नमिल्ने अवस्थामा छन् । भूकम्पबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएकाले विस्थापितहरू छिमेकी र आफन्तको घरमा बसेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका पाँचवटै वडामा सामान्य, आंशिक र पूर्ण क्षतिको विवरण सङ्कलन गर्न स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधिसहितको टोली परिचालन गरिएको छ । हालसम्म भूकम्पबाट करिब दुई सय घरधुरी प्रत्यक्ष प्रभावित भएको गाउँपालिकाको प्रारम्भिक विवरणमा उल्लेख छ ।

गाउँपालिकाभित्रका अधिकांश कच्ची घरमा चिरा परेको देखिएको छ । सर्वसाधारणका घरदेखि विद्यालय, गुम्बालगायत सामुदायिक भवनसमेत चर्किएको अवस्थामा रहेकाले प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेपछि क्षतिपूर्तिको प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

बेलाबेलामा भूकम्पको धक्का महसुस भइरहेकाले स्थानीय त्रसित छन् । दिउँसो घरायसी काम गर्नेहरू राति खुला चौरमा टेन्ट टाँगेर सुत्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले लोमन्थाङबाहेक अन्य गाउँपालिकामा क्षति नभएकाले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी प्रहरी टोली खटाएर क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । माटोका घर चर्किएको अवस्थामा रहेकाले सुरक्षित नभएका घरमा नबस्न प्रहरीले अनुरोध गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का ठुलो भएकाले केही दिन परकम्प आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । केन्द्रले चार रेक्टर स्केलभन्दा माथिका भूकम्पको रेकर्ड मात्र राख्ने गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्