डायस्पोरा

बोस्टन सप्ताह सम्पन्न, करिब १० लाख डलर संकलन

बोस्टन । बोस्टनमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ .बोस्टन सप्ताह)–२०२६ मा करिब १० लाख अमेरिकी डलर रकम संकलन भएको जनाइएको छ।

‘सबै जुटौँ, कोही नछुटौँ’ भन्ने मूल नारासहित अगस्ट १६ तारिख आइतबारदेखि सुरु भएको सप्ताहव्यापी ज्ञान महायज्ञ आइतबार राति सम्पन्न भएको हो। महायज्ञमा प्रमुख कथावाचकका रूपमा वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्नुभएको थियो।

पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इङ्गल्यान्ड (प्याव्फोन)को आयोजनामा भएको सप्ताहव्यापी ज्ञान महायज्ञको अन्तिम दिन आइतबार राति कथा श्रवणपछि नाचगान, भजन–कीर्तन तथा लाखबत्ती प्रज्ज्वलनसहित महायज्ञ सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।

सप्ताह ज्ञान महायज्ञ–२०२६ आयोजक समितिले महायज्ञ ऐतिहासिक रूपमा भव्यताका साथ सम्पन्न भएको जनाएको छ।

यसअघि नौ वर्षअघि सन् २०१७ मा पनि बोस्टन सप्ताह आयोजना गरिएको थियो। त्यसबेला प्याव्फोनले सप्ताहमार्फत संकलन गरेको रकमबाट बोस्टन सहरबाट करिब आधा घण्टाको दूरीमा रहेको ब्रेनट्रीमा चर्च खरिद गरी मन्दिर निर्माण गरेको थियो। मन्दिरमा पशुपतिनाथ र बुद्धका मूर्तिसहितको स्तूपासमेत निर्माण गरिएको छ। त्यसबेला पनि पण्डित पोखरेल नै प्रमुख कथावाचक हुनुहुन्थ्यो र करिब १५ लाख डलर रकम संकलन भएको थियो।

यसपटक दाताहरूले प्रतिबद्धतासहित घोषणा गरेको रकम सोही मन्दिरको बाँकी ऋण तिर्न प्रयोग गरिने जनाइएको छ।

प्याव्फोनले महायज्ञमा विभिन्न रूपमा साथ र सहयोग गर्ने सम्पूर्ण दाता, यजमान, स्वयंसेवक, मूल समारोह समिति, कलाकार, सञ्चारकर्मी तथा बोस्टनस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई धन्यवाद दिएको छ। साथै, महायज्ञमा सहभागिताका लागि विभिन्न राज्य, क्षेत्र तथा विदेशबाट आउनुभएका सम्पूर्ण भक्तजनप्रति हार्दिक आभार व्यक्त गरेको छ।

प्याव्फोनले महायज्ञको सफलताले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामुदायिक एकताको कार्यलाई अझ मजबुत बनाउन सहयोग पुगेको जनाएको छ।

प्याव्फोनका अध्यक्ष ध्रुव घिमिरेले ज्ञान महायज्ञ सम्पन्न भए पनि दान तथा सहयोग गर्ने अभियान जारी रहेकाले यस पवित्र कार्यमा जोडिन दाताहरूलाई अनुरोध गर्नुभएको छ।

त्यसैगरी, प्याव्फोन बोर्ड अफ ट्रस्टीका अध्यक्ष सुशील पौडेलले सप्ताह सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यसले नेपाली समुदायका विभिन्न पक्षबीच एकताको भावनालाई बलियो बनाएको बताउनुभयो। सप्ताहमा सबै तप्का र उमेर समूहका मानिसको सहभागिताले कार्यक्रमलाई थप भव्य बनाउन विशेष योगदान पुगेको उहाँले बताउनुभयो।

महायज्ञ मूल समारोह समितिका अध्यक्ष मिलनकुमार कार्कीले महायज्ञ उद्देश्यअनुरूप नै भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आयोजनामा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्