क्याप्टेन सन्दीप लामिछानेको नेतृत्वमा नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौँ । जापानको आइची–नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) १५ सदस्यीय एसियाड क्रिकेट टोलीको घोषणा गरेको हो । टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ ।
एसियाडमा नेपालको पुरुष क्रिकेट टोलीले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । यस समूहमा नेपालसहित आयोजक जापान र अफगानिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन्।
भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान सोझै क्वार्टरफाइनलमा स्थान पाएका छन् । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । क्वार्टरफाइनलमा पुगेमा नेपालले भारत र पाकिस्तान जस्तो बलियो टोलीसँग खेल्ने मौका पाउनेछ ।
यसअघि चीनमा भएको १९औँ एसियन गेम्समा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्न पाएको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो । एसियन गेम्सका खेलहरु टी–२० ढाँचामा हुनेछ ।