राजनीति

सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँ : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको बताउनुभयो ।

“जब राष्ट्रिय मुद्दाहरूमा आउँछौँ, जहाँ सरकारसँग सहकार्य गर्नुपर्ने हुन्छ, त्यो बेलामा सबैभन्दा अगाडि प्रमुख प्रतिपक्षी दल सर्नुपर्छ, सँगसँगै हाम्रो अर्को जिम्मेवारी पनि छ, हामी प्रतिपक्ष हौँ, त्यसैले सरकारमाथि प्रश्न गर्ने हाम्रो जिम्मेवारी हो, तीन दल मिलेर सरकार बनाऔँ भन्दा हामीले प्रतिपक्षी विहीन प्रदेश सरकारको अस्वीकार गरेका हौँ”, सभापति थापाले भन्नुभयो ।

सभापति थापाले नेपाली कांग्रेस पार्टीभित्र सम्पन्न भएको विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत, आवश्यक र औचित्यपूर्ण थियो भन्नुभयो ।

“महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि यसले एउटा स्पष्ट निष्कर्ष निकालेको थियो, सोही निष्कर्ष र परिणामलाई लिएर हामी निर्वाचन आयोगमा उपस्थित भयौँ, निर्वाचन आयोगले नेपालको प्रचलित कानुन, निर्वाचनसम्बन्धी नियमहरू र आफ्नै आन्तरिक प्रशासनिक व्यवस्थाअनुसार पार्टीको महाधिवेशनबाट आएको नतिजालाई अध्ययन ग¥यौँ । आयोगले उक्त परिणामलाई आधिकारिक रूपमा स्वीकार गर्दै बुझ्यो र सोहीअनुसार पार्टीको विवरण अद्यावधिक ग¥यो । यससँगै निर्वाचन आयोगको प्रक्रिया पूरा भयो”, सभापति थापाले भन्नुभयो ।

सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही साथीहरूले पूर्ण असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको भन्दै यसले थप प्रष्ट पार्ने बताउनुभयो ।

“आयोगको निर्णयमाथि उठेका केही प्रश्नहरूमाथि पुनः एकपटक छलफल होस् भन्ने मनसायका साथ यो विषय पुनः अदालतको प्रक्रियामा पुगेको हो”, उहाँले भन्नुभयो ।

सभापति थापाले १५औँ महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै साथीहरूलाई समान अधिकार दिइनेछ भन्ने जानकारी गराउनुभयो । उहाँले दबाबमा नपरी, पुराना र नयाँ पुस्ताका साथै सबै समावेशी समुदायलाई समेटेर रुख चिन्हप्रति प्रतिबद्ध रही पार्टी एकजुट बनाउनुपर्छ भन्नेमा जोड दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्