पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सालझण्डी-ढोरपाटन सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहान ढोरपाटन नगरपालिका-९ को फाल्लेघरमा पहिरो खस्दा बुर्तिबाङ-ढोरपाटन सडक खण्ड अवरुद्ध हुन पुगेको हो। सडक अवरुद्ध हुँदा नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन भ्रमणमा आएका पर्यटकहरू अलपत्र परेका छन्।
शुक्रबार साँझ ढोरपाटन पुगेकाहरू फर्कन सकेका छैनन् भने बिदा मनाउन त्यहाँ पुगेका अन्य व्यक्तिहरू फाल्लेघरमै रोकिएका छन्। प्रहरी नायव उपरीक्षक (डिएसपी) रामेश्वर त्वातीले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए।
“बिहानैदेखि सडक अवरुद्ध छ र आवतजावत ठप्प छ। सडक खुलाउने प्रयास भइरहे पनि ढोरपाटन आउने-जाने यात्रुहरूले सास्ती खेप्नुपरेको छ,” त्वातीले बताए। उनले ढोरपाटन भ्रमणको योजना बनाइरहेका पर्यटकहरूलाई यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन पनि सुझाव दिएका छन्, विशेषगरी अहिले यस क्षेत्रमा पर्यटकहरूको चाप बढिरहेको सन्दर्भमा।