नेपाल

राजविराज । राजविराज नगरका पाँच हजारभन्दा बढी मूलनिवासी परिवार लालपुर्जाविहीन अवस्थामा छन ।

पुस्तौँदेखि भोगचलन गर्दै आएको विटौरी जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नपाएको भन्दै नगरका मूलवासीलै थालेको आन्दोलन शुक्रबार ४८ औँ दिनमा पुगेको छ ।

आन्दोलनरत स्थानीयले लालपुर्जा वितरणको सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने अडान लिएर निरन्तरता दिइरहेका छन ।राजविराज नगरपालिका–६ का स्थानीय शिवनारायण साहले बाबुबाजेदेखि उपभोग गर्दै आएको जग्गामा विटौरी कर नियमित तिर्दै आए पनि हालसम्म लालपुर्जा प्राप्त गर्न नसकेको बताउनुभयो ।

उहाँका अनुसार लालपुर्जा अभावमा स्थानीयवासीले आर्थिक, सामाजिक तथा कानुनी रूपमा विभिन्न समस्या भोगिरहेका छन् ।स्थानीयका अनुसार विक्रम संवत् १९९८ मा योजनाबद्ध रूपमा राजविराज नगर स्थापना गर्दा तत्कालीन सदरमुकाम हनुमाननगरबाट ल्याइएका नागरिकलाई विटौरी जग्गा उपलब्ध गराएर बसोबास गराइएको थियो ।

त्यसयता नगरवासीले सरकारलाई तोकिएको कर तथा अन्य राजस्व बुझाउँदै आए पनि जग्गाको लालपुर्जा प्राप्त गर्न सकेका छैनन् ।७५ वर्षीय जगरनाथ दासले नगर स्थापना गर्न योगदान पुर्‍याएका मूलवासी नै अहिले पनि लालपुर्जाविहीन रहनु दुःखद भएको बताउनुभयो ।

उहाँका अनुसार कर्मचारी आवाससहित करिब ७० बिघा क्षेत्रफलमा बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी परिवारले जग्गाको लालपुर्जा माग गर्दै आन्दोलन गरिरहेका छन् ।

स्थानीय हितनारायणलाल दासका अनुसार विगतमा विटौरी करको रसिदलाई आधार मानेर जग्गा खरिदबिक्री, दृष्टिबन्धक, अंशबन्डा तथा बैङ्किङ कारोबार हुँदै आएको थियो ।

अदालतबाट समेत यस्ता जग्गासम्बन्धी स्वामित्व हस्तान्तरणका विषयमा फैसला भए पनि पछिल्ला वर्षमा ती सबै प्रक्रिया रोकिएको उहाँले बताउनुभयो ।

स्थानीय दिपेन्द्र चौधरी अनुसार विसं २०६८ मा भोगचलन र विटौरी कर तिरेको आधारमा नापी सम्पन्न गरिएको थियो । त्यसक्रममा कानुनबमोजिम भूलसुधार तथा दाबीविरोधको प्रक्रिया पूरा भएको र केही व्यक्तिले वडा कार्यालयको सिफारिसका आधारमा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरिसकेको उहाँको भनाइ छ ।

राजविराज नगरपालिकाले पनि विटौरी जग्गाको लालपुर्जा वितरणसम्बन्धी निर्णय गरी सम्बन्धित निकायमा पत्राचार गरिसकेको जनाएको छ ।

नापी कार्यालयले समेत वितरणका लागि जानकारीपत्र जारी गरेको भए पनि हालसम्म प्रक्रिया अघि नबढेको आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले बताउनुभयो ।कुनै निकायबाट औपचारिक रूपमा वितरण रोक्न निर्देशन नआए पनि प्रक्रिया रोकिएकाले यथाशीघ्र लालपुर्जा वितरण गर्नुपर्ने उहाँको माग छ ।

आन्दोलनरत पक्षले राजविराज नगरपालिकामा तालाबन्दी, रिले अनशन, धर्ना, अर्धनग्न प्रदर्शन, टर्चलाइट र गुलाब फूलसहितका प्रतीकात्मक विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आन्दोलनका क्रममा नगरपालिकामा लगाइएको ताल्चा प्रहरीले खोलेर आन्दोलनकारीलाई हटाएको तथा लाठीचार्ज गरेको आरोपसमेत आन्दोलनकारीले लगाएका छन् ।त्यसपछि आन्दोलनलाई थप सशक्त बनाउँदै दैनिक शान्तिपूर्ण प्रदर्शन जारी राखिएको उनीहरूको भनाइ छ ।

आन्दोलनकारीले ‘एउटै नारा, एउटै आवाज, हाम्रो प्यारो राजविराज’ र ‘आश्वासन होइन, लालपुर्जा चाहिन्छ’ जस्ता नारासहित दैनिक प्रदर्शन गर्दै आएका छन् ।

उनीहरूको एकसूत्रीय माग राजविराज स्थापनाकालदेखि नेपाल सरकारले उपलब्ध गराएको विटौरी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई हकभोगका आधारमा निःशर्त जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउनु रहेको छ ।

आन्दोलनका अगुवा दीपेन्द्रकुमार चौधरीका अनुसार विगतमा विटौरी जग्गा धितो राखेर बैङ्किङ कारोबार हुँदै आए पनि सरकारले स्पष्ट कानुनी व्यवस्था नभएसम्म यस्ता जग्गा धितो स्वीकार नगर्न निर्देशन दिएपछि स्थानीयवासी थप प्रभावित बनेका छन् ।

आन्दोलनकारीले २०२८ सालको नापी अभिलेखमा करिब ६० बिघा क्षेत्र गाउँ ब्लकका रूपमा कायम रहेको तथा त्यसलाई आधार बनाएर पनि लालपुर्जा वितरण गर्न सकिने दाबी गरेका छन् ।

उनीहरूले दशकौँदेखि कर तिर्दै आए पनि स्वामित्वबाट वञ्चित रहनुपरेको भन्दै सम्बन्धित निकायसँग शीघ्र समाधानको माग गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्