नेपाल

नेपालका ११ जिल्लाको ८२ स्थानमा बर्ड फ्लु

काठमाडौं । चरा तथा पन्छीमा लाग्ने अत्यन्त संक्रामक भाइरल रोग ‘बर्ड फ्लु’ देशका ११ जिल्लाका ८२ स्थानमा फैलिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङमा पहिलोपटक संक्रमण पुष्टि भएपछि रोग विभिन्न जिल्लामा फैलिएको हो।

विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा बर्ड फ्लु देखिएको छ। संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी नष्ट गरिएको छ। साथै ९ लाख ८९ हजार ३ सय १३ वटा अण्डा र १ लाख ९५ हजार ४ सय ८५ किलोग्राम दाना पनि नष्ट गरिएको विभागले जनाएको छ।

कोशी प्रदेशमा रोग नियन्त्रणका लागि एक महिनासम्म पन्छीको ओसारपसारमा रोक लगाइएको थियो। हाल संक्रमण नियन्त्रणमा आएपछि उक्त प्रतिबन्ध खुकुलो बनाइएको छ। रोग फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूलाई उच्च सतर्कतामा राखिएको तथा गस्ती परिचालन गरी अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छीहरू नष्ट गरिएको विभागले जनाएको छ।

विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। यद्यपि काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित काभ्रेका केही स्थानमा अझै बर्ड फ्लुको प्रकोप देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.