राजनीति

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार सभापति पदमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले रवि लामिछाने निर्विरोध निर्वाचित भएका हुन् । 



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार सभापति पदमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले रवि लामिछाने निर्विरोध निर्वाचित भएका हुन् । । लामिछानेले वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहलाई प्रस्तावक राखेर मनोनयन दर्ता गराएका थिए ।

मनोनयन दर्तापछि लामिछाने र शाह निर्वाचन आयोग सचिवालयको बरन्डामा उपस्थित भई प्रतिनिधिहरूलाई अभिवादन गरेका थिए ।

यसैबीच, रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि निर्वाचन प्रक्रिया जारी रहेको छ । संशोधित निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता, दाबी–विरोध, जाँचबुझ तथा उम्मेदवारी फिर्तासम्बन्धी प्रक्रिया सम्पन्न गरी उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रमुख भुवन केसीद्वारा जारी तेस्रो संशोधित कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशनसँगै मौन अवधि सुरु भएको छ । बुधबार बिहानदेखि केन्द्रीय सदस्य पदका लागि मतदान हुने जनाइएको छ ।

मतदान सम्पन्न भएको दुई घन्टापछि मतगणना सुरु गरी परिणाम घोषणा गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ । पहिलो चरणको परिणाम सार्वजनिक भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ । तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्