राजनीति

रास्वपा महाधिवेशन: एक जनाले एक उम्मेदवारको मात्र प्रस्तावक बन्न पाउने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेद्वारका प्रस्तावकले अर्को उम्मेदवारको प्रस्तावक बन्न नपाउने भएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाइने जनाएको हो ।

त्यसैगरी, कुनै पनि पदका उम्मेद्वारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा समर्थकका रूपमा पनि हस्ताक्षर गर्न नपाइने आयोगले स्पष्ट गरेको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदका उम्मेदवारले मनोनयन फारम दाखिला गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर गरेको हुनुपर्ने छ । 

त्यस्तै, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हरेकले दाखिला गर्ने मनोनयन फारममा एक जना प्रस्तावक र २१ जनाका दरले समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर भएको हुनुपर्नेछ । 

केसीले नियमविपरीत उम्मेदवार मनोनयन फारम दाखिला हुन आएमा उक्त उम्मेदवारी फारम स्वतः अमान्य ठहर हुने बताउनुभयो । महाधिवेशनको बन्द सत्र आज हुने भएको छ । बन्द सत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने रास्वपाले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्