नेपाल

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

काठमाडौँ । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो । 

विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभयो । 

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो । यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको थियो । 

तथ्याङ्कअनुसार सन् २००० मा ३२३ दशमलव १९ मिलिमिटर, सन् २०२१ मा ३१७.८८ मिलिमिटर र सन् २०२० मा ३१५.७८ मिलिमिटर वर्षा भएको थियो । यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रि–मनसुन अवधिमा औसतभन्दा उल्लेख्य बढी वर्षा हुनु जलवायु प्रणालीमा देखिएको परिवर्तनको सङ्केत हुन सक्छ । यस अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटनासमेत बढेको देखिएको छ । 

विभागका अनुसार यस वर्षको प्रि–मनसुन वर्षा सन् १९९० यताकै मात्र नभई उपलब्ध अभिलेखमा सबैभन्दा उच्च रहेको रेकर्डका रूपमा दर्ता भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्