डायस्पोरा

बेल्जियममा मनाइयो उभौली साकेला

लुभेन। किरात समुदायको मौलिक चाड उभौली साकेला ५०८६ किरात राई सोसाइटी बेल्जियमले लुभेनमा मनाएको छ । कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रममा भिडियो सन्देशमार्फत बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत सेवा लम्सालले विदेशमा रहेका नेपालीहरूले आफ्नो संस्कृति जगेर्ना गर्न गरेको प्रयास अत्यन्त प्रशंसनीय रहेको बताइन । “यस्ता मौलिक पर्वहरू प्रवासमा नेपालीको पहिचान जोगाउने मेरुदण्ड हुन्। साकेलाले प्रकृति र समुदायसँगको सहजीविताको सन्देश दिन्छ” उनले भने ।

लुभेन नगरका उपमेयर लोथे रामाकर्सले नेपाली समुदायको सांस्कृतिक बहुलता देखेर खुसी व्यक्त गर्दै भने, “नेपालको विविधता र यहाँको सांस्कृतिक धरोहर देखेर म प्रभावित भएँ। यो विविधता विश्वकै सम्पत्ति हो ।”

नेपाल र बेल्जियमबिचको सांस्कृतिक सम्बन्धको सराहना गर्दै उहाँले संस्कृति अत्यन्त जीवित र सशक्त रहेको बताए । यस्ता कार्यक्रमले सहिष्णुता र मैत्री बढाउने उनको भनाइ छ ।

स्टाड लुभेनका उप मेयर दिर्क भेन्सिनाले पनि कार्यक्रमलाई समर्थन जनाउँदै लुभेन सहर सधैं बहुसांस्कृतिक सहकार्यको पक्षमा रहेको बताउनुभयो । कार्यक्रममा लुभेन महानगर परिषद सदस्य तथा पहिलो पटक नेपालीमूलबाट अत्यधिक बहुमतका साथ निर्बाचित सूर्य ढकालले नेपालीको बिबिधता हाम्रो पहिचान भएकोले साकेलाको शुभकामना दिए ।

कार्यक्रममा आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङसहित युरोपभरिबाट आएका किरात तथा अन्य नेपाली संघ संस्थाका अगुवाहरूले आ–आफ्नो मन्तव्य राख्दै साकेला चाडको महत्त्वमा प्रकाश पारे ।

बिशिष्ठ अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष कमस पन्थीले किरात सम्बत ५०८६ रोमन, ग्रिक, मिश्र सभ्यताभन्दा पुरानो रहेकाले यो सभ्यतालाई उत्खनन् गरेर मानब इतिहासकै पुरानो सभ्यताबारे बुझ्न पर्यटकको ओइरो लाग्ने बताए ।

जर्मनी राई सोसाइटीका अध्यक्ष तथा एनआरएन निबर्तमान अध्यक्ष निनाम्मा राईले साकेला हाम्रो आत्मा हो। यो चाड मनाउनु हाम्रा पुर्खा र प्रकृतिलाई सम्झनु हो भनिन ।

किरात राई सोसाईटी पोर्चुगलका अध्यक्ष अधि सोतांगले प्रवासमा साकेला मनाउँदा बालबालिकाले पनि आफ्नो जरा र पहिचान नबिर्संने बताउनुभयो । किरात राई समुदाय स्वीटजरल्यान्डका सामदुंग राईले हाम्रो साझा संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कार्यक्रमले बल पुग्ने बताए ।

नेफिन बेल्जियम निबर्तमान अध्यक्ष बिरमान मगरले साकेला किरात सभ्यताको आत्मा भएको बताए। तामाङ समाज बेल्जियमका अध्यक्ष लालिंग तामाङले सांस्कृतिक पहिचान कायम राख्न सबै मिलेर अघि बढ्न जरुरी रहेको बताए ।

कार्यक्रममामा साकेलाका बिभिन्न सिलीहरू प्रदर्शन र पितृ प्रकृतिको पूजासहित आरम्भ भएको कार्यक्रममा उपमेयरद्वयसहित बिदेशीहरूले सामुहिक रूपमा साकेला नाचेर रमाएका थिए। उभौली साकेला किरात समुदायको एक प्रमुख चाड हो, जुन खेतीपाती सुरु हुने समयसँगै प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै मनाइन्छ। कार्यक्रममा साकेला सिली नाच, पारम्परिक भेषभूषा, गर गहना पहिरन जातीय संगीत, झलकहरू प्रस्तुत गरिएका थिए।

किरात राई सोसाइटी बेल्जियमले प्रवासमा बसोबास गर्ने नेपालीहरूबिच सांस्कृतिक पहिचान जगेर्ना गर्न र एकता सुदृढ पार्न यस्ता कार्यक्रमले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रमको समापनमा आयोजक संस्था अध्यक्ष इन्दिरा चाम्लिङले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र समृद्ध सांस्कृतिक आदान–प्रदानको अपेक्षा गरेको बताएकी थिइन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.