मनोरंजन

घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको चलचित्र ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिनुभएको छ । अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै रोगले पीडित देखिनुभएको छ भने उहाँको विवाह कम उमेरकी युवतीसँग भएको देखाइएको छ । स्कुले विद्यार्थीझैँ देखिने उक्त युवतीको भूमिका अभिनेत्री सिम्रन खड्काले निर्वाह गर्नुभएको छ ।

हेर्दा असामान्य लाग्ने जोडीले विवाहपछि सामना गर्ने चुनौतीकै कथामा चलचित्र तयार गरिएको अभिनेता क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र असामान्य व्यवहार देखाउने जोडीको कथामा चलचित्र तयार भएको छ । झट्ट हेर्दा असामान्य देखिने जोडीले जीवनमा भोग्ने उतारचढावमा शिक्षाले पार्ने प्रभाव चलचित्रमा देखाइएको छ । गम्भीर विषयमा सरल चलचित्र बनाउने कोसिस गरेका छौँ ।”

चलचित्र सामाजिक विषयमा तयार गरिएको छ । उक्त चलचित्रमा अभिनेता क्षेत्रीसँगै सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

डा भोला रिजालको कथामा आधारित उक्त चलचित्रलाई डा कपिल रिजालले निर्देशन गर्नुभएको छ । निर्देशक रिजालकै पटकथा रहेको उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गर्नुभएको हो । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताउनुभयो ।

“हामीले चलचित्रमा घर र परिवारको महत्व देखाउन खोजेका छौँ, जहाँ शिक्षाको महत्त्वपूर्ण भूमिका छ”, निर्देशक रिजालले भन्नुभयो ।

उक्त चलचित्रलाई सुमन गिरी र निर्देशक रिजालले संयुक्त रूपमा निर्माण गर्नुभएको छ । सङ्गीतकार शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीले सङ्गीत सृजना गर्नुभएको चलचित्र ‘गौँथली’मा एलिस कार्कीले पाश्र्वसङ्गीत सृजना, मिलन श्रेष्ठले सम्पादन गर्नुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्