एक्सक्लुसीभ

‘भत्कियो घर तर छुटेन मन, भग्नावशेषमै पुगिरहन्छन् सुकुम्वासी परिवार’

काठमाडौँ । ५१ वर्षीय मानबहादुर मगर घरबारविहीन हुनुभएको महिना दिन हुन लाग्यो । २१ वर्षदेखि ८ जनाको परिवारसँग बस्दै आएको घरमा अकस्मात् एका बिहान माइकिङ भयो र बेलुका डोजर चल्यो । मानबहादुरको घरमा क्षणभरमै डोजर चल्यो, घरसँगै भत्किए वर्षौँको परिश्रम र सरसामान, बस्ती उजाडियो तर घरबाट मन छुटिन सकेको छैन । 

मानबहादुर आजकल दैनिक रुपमा भत्किसकेको घर पुग्ने गर्नुहुन्छ र छुटेका, पुरिएका केही महत्वपूर्ण सरसामान सग्लै भेटिन्छन् की भन्ने आशाले भग्नावशेष वरिपरि नियाल्नुहुन्छ । मानबहादुर भन्नुहुन्छ, “आफन्तकहाँ कतिन्जेल बस्नु, कति खानु, बस्न मनै लाग्दैन भत्किसके पनि आफ्नै घर आउँ लाग्छ सरकारले बिहान माइकिङ गर्‍यो साँझ डोजर चल्यो, भाँडाकुँडा, लत्ताकपडा सरसामान सबै पुरियो ।”

सरकारले बैशाख १८ गते काठमाडौँ महानगरपालिका वडा नं १४ बल्खुको नदी किनार तथा सुकुम्वासी बस्तीमा डोजर चलाएपछि बल्खुस्थित जागरण टोलका मानबहादुरसँगै ४ सय ८६ घरपरिवार घरबारविहीन बनेका छन् । घर भत्किएपछि आफन्तकहाँ बस्दै आएका परिवार होस् वा सरकारले राखेको विभिन्न स्थानमा बसेका सुकुम्वासी परिवार दिनदिनै आफ्ना भत्किसकेको घरको भग्नावशेष हेर्न पुग्ने गर्छन् ।

भग्नावशेष निकाल्दै गर्दा भेटिनुभएकी ४३ वर्षीय सरिता तामाङको श्रीमान् बित्नुभएको वर्ष दिन भयो, अहिले एक छोरा र छोरीसहित होल्डिङ सेल्टरमा बसिरहनुभएको छ । तर सरिताको बिरामी छोरीको पढाइ मात्र छुटेको छैन, छोरीको उपचारका लागि आर्थिक अभावले अझ बढी सताएको छ । सरिता भन्नुहुन्छ “बिरामी छोरी छिन् के गरौँ, कसो गरौँ हुन्छ, कोठा खोज्न पनि महँगो भाडा भन्दा रहेछन् । सरकारले व्यवस्था गरिदिन्छु भनेको छ । खै केले गर्छ, कोठा भाडा महँगो छ । कहाँको पैसाले बस्नु कोठा खोजेर?”

यस्तै सरकारले घर भत्काइसकेपछि टहरा बनाएर बस्दै आउनुभएको सुकमाया मोक्तानको परिवार आफ्नो दैनिक रोजगारी र सन्तानको पढाइमा असर पुगेको बताउनुहुन्छ । ‘पहिले बसकै ठाउँमा गाडी आउँथ्यो, स्कुल जाने बच्चालाई घरमै गाडीले ल्याउँथ्यो अहिले त कहाँ हो कहाँ के को आउनु गाडी ।’

आफन्तको बस्दै आउनुभएको ६० वर्षीय मोहन कार्की र ५२ वर्षीय सुनिता परियार पनि दैनिक बल्खु नदी किनार छेउ भत्किएको घर पुग्नुहुन्छ । चिनजानेको छिमेकीहरू पनि आउने हुँदा मनको दुई चार बह पोख्न पनि सहज मान्नुभएकी सुनिता परियारले आफन्तकोमा कति दिन बस्ने होला भन्ने पीडा लागेको सुनाउनुभयो । ‘हामी त दिनदिनै यहीँ आउँछौँ, भत्के पनि जे भए पनि छाप्रो भए पनि आफ्नो घर त घर हुँदो रहेछ,आफन्तले कति दिन खुवाउने हो र! मन अडिन पर्‍यो नि ।’ घरबारविहीन बनाएर उचित व्यवस्थापन गर्न नसकेको गुनासो पोख्नुहुँदै सुनिताले सरकारले आफ्नो सन्तानको पढाई खान बस्न र रोजगारीको व्यवस्था यथाशक्य गर्नुपर्ने माग राख्नुभयो ।

यस्तै सरकारले आश्वासन मात्र बाँडेर नागरिकप्रतिको दायित्व पुरा नगरेको भन्दै वास्तविक सुकुम्वासी पहिचान गरी उचित व्यवस्थापन गर्नमा सरकार चुकेको गुनासो राख्नुहुन्छ ०६२ सालको जनआन्दोलनमा विस्थापित सिन्धुली स्थायी घर भई हाल काठमाडौँ बस्दै आउनुभएका ४४ वर्षीय गणेश रिसाल । उहाँ भन्नुहुन्छ ‘सरकारले वास्तविक सुकुम्वासी पहिचान गर्ने कुनै नीति नै लिएन, छापामार शैलीमा हाम्रो बस्ती उठायो, न समय दियो न सूचना, कमसेकम ३५ दिनको सूचना दिन सक्थ्यो सरकारले, यो त गरिबलाई झन गरिब बनाउने काम भयो ।’

यता अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजि महर्जनले हालसम्म काठमाडौँ जिल्ला भित्रका सरकारी तथा सार्वजनिक जग्गा एवं नदी किनार बस्तीका २ हजार ८ घरपरिवारका ११ हजार बढीलाई सरकारले विभिन्न स्थानमा अस्थायी रुपमा बस्ने व्यवस्थापन गरिएको र बालबालिकाको पढाइ निरन्तर अघि बढाउनका लागि स्कुल बसको व्यवस्थापन आवश्यक रुपमा गरिएको जानकारी दिनुभयो  ।

सरकारले सुकुम्बासी बस्तीका परिवारलाई खानबस्नको राम्रो व्यवस्थापन गरिरहेको दाबीका बाबजुद बल्खु क्षेत्रको भग्नावशेषमा भेटिएका अधिकांश सुकुम्वासी परिवार भने होल्डिङ सेन्टर वा आफन्तकहाँ बस्न भौतिक तथा मानसिक रूपले तयार देखिँदैनन् । यस तर्फ सरकारको जतिसक्दो चाँडै ध्यान पुग्न आवश्यक देखिन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.