साहित्य

कीर्तिमानी स्रष्टा डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौँ। नेपाली साहित्य, सङ्गीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ ।

साहित्यिक पत्रकार सङ्घ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमबिच सांसद राजिव खत्री, पूर्व सांसद तथा कवि रेखा यादव, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, खनाल सेवा समाजका महासचिव माधव खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का सदस्य तारा उप्रेती, मिलापका अध्यक्ष कृष्ण भुसाल, नरेश भट्टराई, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली लगायतले कृतिको लोकार्पण गरेका छन् ।

सामूहिक रूपमा लोकार्पण गरिएको ‘अन्तस्करण’ लाई वक्ताहरूले समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजको रूपमा व्याख्या गरेका थिए । कार्यक्रमा डा.उपाध्यायले यस कृतिमार्फत समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता, सामाजिक यथार्थ, प्रेम, सङ्घर्ष, आशा, आत्मसंवाद तथा जीवनका सूक्ष्म अनुभूतिहरूलाई अत्यन्त कलात्मक र संवेदनशील ढङ्गले अभिव्यक्त गरे ।

प्रमुख अतिथि सांसद राजिव खत्रीले डा. उपाध्याय नेपाली साहित्य, सङ्गीत र सिर्जनात्मक क्षेत्रका अथक साधक भएको उल्लेख गर्दै उहाँका सिर्जनामा जीवनका बहुआयामिक अनुभूतिहरू मुखरित हुने बताए ।

कार्यक्रममा ‘अन्तस्करण’ को भूमिका लेख्नुहुने वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल तथा स्रष्टा डा. डीआर उपाध्यायलाई विशेष सम्मान प्रदान गरिएको थियो । साथै प्रमुख अतिथि सांसद राजिव खत्रीलाई पनि बधाई तथा सम्मान अर्पण गरिएको थियो ।

मिलाप पब्लिकेसनद्वारा प्रकाशित २९९ पृष्ठको यस कवितासङ्ग्रहमा ७९ वटा कविता समावेश छन् । जीवन, समाज, समय र संवेदनाको गहिरो संवाद बोकेको ‘अन्तस्करण’ ले नेपाली पाठकमाझ नयाँ चेतना, आत्मअनुभूति र साहित्यिक बहसको वातावरण सिर्जना गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.