डायस्पोरा

नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो

लन्डन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने महत्त्वाकांक्षी अभियानलाई सघाउन लन्डनमा एक च्यारिटी कार्यक्रम आयोजना गरिएको छ। के-पाल्स यूकेको आयोजनामा ह्यारोस्थित ब्लु रुममा आयोजित उक्त कार्यक्रममा बेलायतवासी नेपाली तथा विभिन्न संघसंस्थाले उत्साहजनक सहभागिता जनाउँदै सहयोगको हात बढाएका हुन्।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याउने उद्देश्यले आयोजित सो कार्यक्रममा सांस्कृतिक प्रस्तुति, राफल ड्र र अक्सन समेत गरिएको थियो। काठमाडौँबाट भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गर्दै डा. भगवान कोइरालाले नेपालमा विगतका दशकमा मातृ तथा शिशु मृत्युदरमा सुधार आए पनि विकसित मुलुकको तुलनामा अझै सन्तोषजनक नरहेको बताए।

उनले बालबालिकालाई गुणस्तरीय मात्र नभई सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्न सातै प्रदेशमा अस्पताल बनाउन लागिएको जानकारी दिए। हाल कोशी प्रदेशको दमकमा अस्पताल सञ्चालनमा आइसकेको र काठमाडौँको हेपाली हाइटमा केन्द्रीय अस्पताल निर्माणाधीन रहेको उनले बताए।

कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीले प्रवासमा रहेका नेपालीले मातृभूमिको शिक्षा र स्वास्थ्य सुधारमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले कियोच जस्ता संस्थाहरूले सरकारको प्रयासमा ठूलो बल पुर्‍याएको भन्दै यो अभियानलाई अनुकरणीय बताए।

यस्तै, कीर्तिमानी पर्वतारोही हरि बुढामगरले अपाङ्गता भएका व्यक्तिका सपना र क्षमताको चर्चा गर्दै नेपालका बालबालिकाको भविष्यका लागि सबैलाई हातेमालो गर्न अपिल गरे।

एनआरएनए आइसीसीका उपाध्यक्ष रामशरण सिम्खडा र एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पारदर्शी रूपमा संकलित सहयोगको सदुपयोग हुनुपर्नेमा जोड दिँदै यो पवित्र अभियानमा व्यक्तिगत र संस्थागत रूपमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। के-पाल्स यूकेका ट्रष्टी डा. दुर्गा सिग्देलले आफ्नो संस्थाले आर्थिक सहयोगका साथै नेपाली चिकित्सक र नर्सहरूको सीप विकास तथा प्रशिक्षणमा समेत काम गरिरहेको जानकारी दिए।

कार्यक्रममा डा. सुदर्शन गुरुङले लोकप्रिय गीतहरू गाएर सहभागीलाई मनोरञ्जन गराएका थिए भने डा. प्रतिष्ठा त्रिपाठी, कविता रानामगर, दीप्ति कोजु, अरिशा शाक्य र आइशा मोक्तानले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। के-पाल्स यूकेका ट्रष्टीहरू प्रा.डा. सत्यन राजभण्डारी, डा. रमेश कोजु, शिवजी श्रेष्ठ र प्रसुना कडेलको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.