राजनीति

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटो प्रचारबाजी भएको जानकारी गराउनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गर्दै नेपालको कानुनअनुसार आफूहरूले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउनुभएको छ ।

“देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शीतासँगै राज्यका अङ्गहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिङ्गो जीवन सङ्घर्षमै व्यथित गरेको हुँ”, उहाँले उल्लेख गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री देउवाले आफ्नो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको उल्लेख गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आफू गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफ्नै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको बताउनुभएको छ ।

“स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु”, उहाँले उल्लेख गर्नुभएको छ, “वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.