नेपाल

दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिकै सुनौलीबाट नारायणघाटतर्फ जाँदै गरेको युपी २१ बीटी २७९१ नम्बरको भारतीय कन्टेनर ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई तीनवटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो।

कन्टेनरले काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००१ ख ११९२ नम्बरको बसलाई ठक्कर दिएको थियो। उक्त बसले काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बस, भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २४७५ नम्बरको बस र बुटवलबाट चितवनतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२ प ९५७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको पण्डितले बताउनुभयो।

दुर्घटनामा मोटरसाइकलमा सवार कालिकोटको रास्कोट नगरपालिका–६ का ३० वर्षीय अमर कार्की र पछाडि सवार २५ वर्षीय महेन्द्र महतारा घाइते हुनुभएको छ। त्यस्तै बसमा सवार रोल्पा स्मृति गाउँपालिका–४ का ४४ वर्षीय शंकर बिष्ट, रोल्पा नगरपालिका–४ लिवाङका ४७ वर्षीय उदीराम बिष्ट र रोल्पा–२ का २४ वर्षीय दर्शन पोख्रेल पनि घाइते हुनुभएको छ।

यसैगरी, प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल, रामेछाप मन्थली नगरपालिका–१२ का ३४ वर्षीय विनोदकुमार अछामी, धरान–१५ का ३० वर्षीय नाम्नुहाङ राई र सुनसरीको इनरुवा नगरपालिका–५ का ३४ वर्षीय चन्द्रसिंह थापा घाइते हुनुभएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये मोटरसाइकल चालक कार्कीको खुट्टा र महताराको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ। अन्य घाइतेहरूको भने मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.