राजनीति

कांग्रेस सुशासनको सङ्कल्प बोकेर अघि बढेको छः सभापति थापा

बाँके। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको सङ्कल्प बोकेर कांग्रेस अघि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको वृहत् चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सुझबुझ, उत्साह र ऊर्जा बोकेर देश बनाउने प्रतिज्ञासहित कांग्रेस अघि बढेको बताउनुभयो । ‘हिजो गरेका फोहोरलाई सफा गर्ने प्रतिज्ञा गरेर अघि बढेका छौँ,’ सभापति थापाले भन्नुभयो-‘देशलाई बनाउँछौँ, काँग्रेससँग विवेक छ, सामर्थ्य छ, देश बनाउने सङ्कल्प छ ।’

भदौ २३ र २४ को जेनजी विद्रोहपछि मुलुकमा विशिष्ट परिस्थितिमा अप्रत्याशितरुपमा निर्वाचन हुँदै गरेको भन्दै सभापति थापाले भन्नुभयो, ‘फेरि एउटा प्रयोग नेपालमा नगरौँ, २०७४ देखि २०८२ सम्मको अवधि खेर गएको छ, मुलुकले विकास र सुशासनमा यो समयलाई प्रयोग गर्न सक्नुपर्थ्यो, तर आठ वर्षको क्षतिपूर्ति गर्नुपर्नेछ, त्यो सामर्थ्य काँग्रेसले राख्दछ ।’ गएको आठ बर्ष गति र मति दुवै ठिक नहुँदा मुलुक विकास र सुशासनको राजमार्गमा दौडिन नसकेको उहाँको भनाई छ ।

मुलुकलाई अब काँग्रेसले असामान्य तरिकाले बेजोड गतिमा अघि बढाउने दाबी गर्दै सभापति थापाले भन्नुभयो, ‘बेजोडले गाडी दौडाउनु छ, कसैलाई नछोडेर, काँग्रेसले गाडी बेजोड गतिमा दौडिने ग्यारेन्टी गर्दछ, त्यति मात्र होइन दुर्घटनामा पर्न पनि दिँदैन । अबको पाँच बर्ष रोजगारी, विकास, सुशासन र समृद्धिको बर्ष बनाउने सङ्कल्प काँग्रेसले लिएको उहाँको भनाई छ । सभापति थापाले २०४६ साल यता लाभको पदमा बसेका राजनीतिक व्यक्तित्वहरूको सम्पत्ति छानविन गर्न कांग्रेस नेतृत्व गर्ने उद्घोष समेत गर्नुभयो ।

सामाजिक सञ्जालमा घृणा र उत्तेजना हाबी भइरहेको चर्चा गर्दै उहाँले आफूले सबै कुराको खण्डन गर्दै नहिँड्ने स्पष्ट पार्नुभयो । ‘म खुला किताब हुँ, सबै विषयको खण्डन गर्दै हिँड्दिन,’ थापाको भनाई थियो । उहाँले सबै नेता कार्यकर्तालाई घरघरमा गएर कांग्रेसको मिसन र भिजनबारे प्रष्ट्याउन आह्वान समेत गर्नुभयो । ‘खुट्टा दौडाउनुस्, हात जोड्नुस्, घरघर पुग्नुस्, आमनागरिकको भरोसा काँग्रेसप्रति बढ्दै गएको छ, मेरो नाम लिएर जिम्मा लिनुस्, म तपाईंहरुलाई निराश बनाउँदिनँ,’ थापाले भन्नुभयो । उहाँले बाँके-बर्दियाका पाँच निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गर्नुभयो ।

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न वृहत् चुनावी सभालाई केन्द्रीय उपसभापति पुष्पा भुसाल, बर्दिया २ का उम्मेदवार किशोरसिंह राठौर, बर्दिया १ का उम्मेदवार संजय गौतम, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् चुनाव प्रचारप्रसार समिति संयोजक राजु खनाल, बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, बाँके २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गर्नुभएको थियो ।

बाँकेका उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव सन्जु कुमारी चौधरीले गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.