नेपाल

‘सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताउनुभएको छ।

निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउँदै कार्यवाहक प्रमुख भण्डारीले निर्वाचन हुन्छ कि हुन्न भन्ने जनमानसको प्रश्न चिरेर आयोग तयारीमा जुटेको बताउनु भएको हो।

निर्वाचनका प्रशिक्षक प्रशिक्षणसम्बन्धी कार्यशालामा भण्डारीले निर्वाचन सुरक्षाका लागि आयोगले सरकार लगायतका सबै निकायसँग समन्वय गरिरहेको बताउनुभयो।

निर्वाचन हुन्छ कि हुन्न भन्ने संशय विगतमा पनि रहेको स्मरण गर्दै उहाँले निर्वाचनको कुनै विकल्प नरहेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘‘संविधान सभाको निर्वाचन हुन्छ कि हुँदैन भनेर अघिल्लो दिनसम्म सारा मान्छेको शंका उपशंका थियो। भोलिपल्ट मतदानको प्रक्रिया सम्पन्न भएपछि निर्वाचन त भयो नि। त्यसैले अहिले पनि सुरुदेखि निर्वाचन हुन्छ कि हुँदैन ? के निर्वाचन हुन्छ त ? अहिले पनि जनमानसमा आउने प्रश्न यही हो। यो प्रश्नलाई चिरेर निर्वाचनको विकल्प छैन निर्वाचनको विकल्प निर्वाचन नै हो र निर्वाचन हुन्छ ।’’

जेनजी विद्रोहको फरक पृष्ठभूमिका निर्वाचन हुन गइरहेको भन्दै निर्वाचन सम्पन्न गर्ने आयोगको अठोट रहेको भण्डारीले बताउनु भयो।

सरकारले सुरक्षा व्यवस्था सुदृढीकरणका लागि सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरेको पनि उहाँको भनाइ थियो।

आयोगले चुनावको तयारीका क्रममा प्रदेशका प्रमुख सचिव र सचिवहरुसँग पनि परामर्श गरेको कार्यवाहक प्रमुख भण्डारीले बताउनुभयो। निर्वाचन आयोग व्यवस्थापकीय भूमिकामा चुस्तरुपमा तयारीमा लागिरहेको पनि उहाको भनाइ छ।

यसैगरी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राष्ट्रपतिबाट ६ महिनाभित्र निर्वाचन गराउने भन्ने जुन जिम्मेवारी सम्पिनुभएको थियो त्यसबाहेक हामीसँग अरु विकल्प नभएको बताउनु भयो ।

उहाँले देशलाई एउटा सकारात्मक वातावरण सिर्जना गर्दै जाने र सुरक्षा संयन्त्रलाई अझ बलियो बनाएर जाने धारणा राख्नु भयो ।

उहाँले कतिपय माग सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनु भयो ।

कार्यक्रममा निर्वाचन आयुक्त्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शमेशर जबरालगायत सहभागी हुनुहुन्थ्यो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.