एक्सक्लुसीभ

एमाले नेतृत्व चयनका लागि मतदान शुरू, ओली–पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान प्रक्रिया आजबाट औपचारिक रूपमा शुरू भएको छ। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मतदानमार्फत भोट हालेसँगै प्रतिनिधिहरूलाई मतदानस्थल प्रवेश गराइएको हो।

मतदानस्थल भृकुटीमण्डपमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पुगेपछि मतदान प्रक्रिया अघि बढेको हो। अर्का अध्यक्ष उम्मेदवार ईश्वर पोखरेल भने बिहानैदेखि मतदानस्थलमा उपस्थित भएर प्रतिनिधिहरूसँग भेटघाट तथा मत मागिरहनुभएकाे थियाे।

यसअघि हिजो बिहान १० बजे मतदान शुरू गर्ने कार्यतालिका भए पनि विभिन्न प्राविधिक कारणले समय पटक–पटक सरेको थियो। उम्मेदवारहरूको संशोधित सूची समयमै विद्युतीय मतदान मेसिनमा प्रविष्ट हुन नसक्नु र फन्ट सपोर्टसम्बन्धी समस्याका कारण मतदान आज बिहानका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।

३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि भृकुटीमण्डपमा भेला भएका छन्। तीमध्ये केही पदमा उम्मेदवार निर्विरोध चयन भइसकेका छन्।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको छ। एक जना प्रतिनिधिलाई मतदान गर्न औसत ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार एकपटकमा ५० जनालाई मतदान गर्ने व्यवस्था मिलाइएको छ। महिला र पुरुष प्रतिनिधिका लागि एउटै लाइन बनाइएको छ।

अध्यक्ष पदका उम्मेदवार ओली र पोखरेल आ–आफ्नो छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएकाे छ।

निर्वाचन आयोगका अनुसार ५ जना उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै, ३ उपमहासचिव पदका लागि ७ जना तथा ९ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.