राजनीति

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : महामन्त्री थापा

सर्लाही । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताउनुभएको हो ।

महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने बहसमा केही समय खेर गए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा सरिक हुने निर्णय भइसकेकाले त्यसमा होमिन सबैलाई आग्रह गर्नुभयो । उहाँले फागुन २१ को निर्वाचनले संविधानमाथिको थप क्षति हुन नदिने बुझाइसहित पार्टीले निर्वाचनको बाटो रोजेको धारणा राख्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “हामी फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ । अन्य दलहरू पनि तयार भइसकेकाले सरकारले सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ । जेनजी प्रदर्शनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती हुनसक्ने कुरा सरकारलाई अवगत गराइसकेका छौँ । सरकारले समयमै त्यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्छ ।”

उहाँले प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार राखेको सर्वदलीय बैठकमा पनि यस विषयमा ध्यानाकर्षण गराउनुका साथै सबै समूह र राजनीतिक दलले चुनावमा भाग लिन पाउनुपर्नेमा जोड दिइएको उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार हुने भन्दै नयाँ नेतृत्व चयनका लागि चाँडै नै देश दौडाहामा जाने बताउनुभयो । उहाँले आफू आगामी निर्वाचनमा पनि काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने स्पष्ट पार्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.