जनप्रतिनिधिले अर्को दलको सदस्यता लिएमा विधानअनुसार कारबाही गरिने सभापति थापाको चेतावनी
ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेकाले सोहीअनुसार पार्टीको नीति, विचार र आगामी कार्यदिशा निर्धारण गरिने बताउनुभयो ।
सभापति थापाले गत फागुन २१ गतेको निर्वाचनमा काँग्रेसले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै त्यसको समीक्षा गरी स्पष्ट नीति तथा कार्यक्रमका साथ जनताको विश्वास जिती लोकप्रिय पार्टीका रुपमा स्थापित हुनसक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले २०६२/६३ को जनआन्दोलनपछिका २० वर्षको राजनीतिक अवस्थाको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै संविधान निर्माणपछि जनताका आकाङ्क्षा पूरा गर्ने सवालमा राजनीतिक दलहरू चुकेको बताउनुभयो ।
सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले गत संसदीय निर्वाचनमा प्राप्त गरेको जनादेशलाई काँग्रेसले सम्मान गर्ने बताउँदै रास्वपालाई पाँच वर्ष निर्बाध रूपमा सरकार सञ्चालन गर्न दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
काँग्रेसले प्रमुख प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने उल्लेख गर्दै उहाँले सरकारका राम्रा काममा सहयोग गर्ने, कमजोरीमा प्रश्न उठाउने, आवश्यकताअनुसार खबरदारी र प्रतिरोध गर्ने धारणा राख्नुभयो ।
उहाँले पार्टीको विधान कार्यान्वयनमा भने कुनै सम्झौता नहुने भन्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को राजनीतिक दलको सदस्यता लिने व्यक्तिले सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो । सभापति थापाले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका जनप्रतिनिधिले अर्को दलको सदस्यता लिएमा विधानअनुसार कारबाही हुने स्पष्ट गर्नुभयो ।
सभापति थापाले आगामी पुस १५ गतेभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई अनुरोध गरिएको जानकारी दिनुभयो । बैठकमा स्थानीय निर्वाचनको प्रारम्भिक तयारी र आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल हुने उहाँले बताउनुभयो ।