भीमफेदी ईभी दुर्घटना: मृतकको संख्या १४ पुग्यो, पाँच सदस्यीय छानबिन समिति गठन
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। दुर्घटनामा एउटै परिवारका सात जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका एकै परिवारका सात जनाले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा पुनम राय, उनका छोरीहरू शिक्षा राय, दीपिका राय र अनु राय तथा परिवारका अन्य सदस्य बिकेश राय, सुदेश राय र पुनम देवी रहेका छन्।
दुर्घटनामा मृत्यु भएका परिवारका सदस्य पुनम देवीका छोरा १४ महिनाका सुदिप राय घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ। परिवारका अन्य सदस्यहरूको मृत्यु हुँदा शिशु घाइते भएका छन्।
यसैबीच, दुर्घटनाको सत्यतथ्य छानबिन गरी कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिका सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्ट, बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका इन्जिनियर दीपेन्द्र रोहिता र आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी कानुन अधिकृत अनुशिया भट्टराई रहेका छन्।
समितिलाई सात दिनभित्र दुर्घटनाको कारण, सडकको अवस्था, सम्भावित जोखिम र आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका उपायसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ। घाइते ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने दुई जनालाई थप उपचारका लागि काठमाडौँ र एक जनालाई चितवन रिफर गरिएको छ।
छानबिन समितिको प्रतिवेदनका आधारमा सडक सुरक्षाका आवश्यक उपाय पहिचान गरी कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता दुःखद दुर्घटना दोहोरिन नदिन रणनीति बनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।