नेपाल

असिना पानीसहितको वर्षाले जनजीवन प्रभावित

काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यका लगाषत विभिन्न जिल्लामा असिना पानीसहित वर्षा भएको छ । आज हल्का वर्षाको पूर्वानुमान गरिए पनि असिना पानीसहितको वर्षा हुँदा भाइटीकाको दिन जनजीवन प्रभावित बनेको छ ।

हिमाली भेगमा कतै भारी र कतै मध्यम हिमपात हुँदा त्यहाँ पनि जनजीवन प्रभावित बन्न पुगेको छ । दिउँसो करिब साढे १२ बजेदेखि बदली सुरू भएकोमा करिब पौने २ बजेदेखि काठमाडौँको पहाडी भेगहुँदै वर्षा सुरू भएको थियो।

पश्चिमी वायु र माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावले असिना पानीसहितको वर्षा भएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

वर्षासँगै ठुलो असिनापानी वर्षिदा त्रिभुवन विमानस्थलमा आन्तरिक र बाह्य हवाई उडान समेत ५५ मिनेट अवरुद्ध हुन पुगेको थियो । धावनमार्गको केही भागमा असिना थुप्रिएपछि केही विमान भारत डाइभर्ट भएको थियो । केही समय पहिले धावनमार्ग सफा गरेर उडान सुचारू हुन थालेको बताइएको छ ।

मौसमविद मनोज भट्टका अनुसार आज दिउँसोदेखि साँझसम्म देशको विभिन्न भूभागमा वर्षा कायम रहन गएको छ । उहाँका अनुसार काठमाडौं उपत्यकासँगै धादिङ, गोरखा, लमजुङ, इलाम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, स्याङ्जा, कास्की, म्यादी, रोल्पा लगायत जिल्लामा वर्षा भएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षासँगै असिना परेको छ ।

उच्च हिमाली भेगमा मध्यम हिमपात भइरहेको छ ।  मधेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका एक दुई स्थानमा पनि वर्षा भएको छ । यतिखेर इलामसम्म वर्षा पुगेको छ । सुदुरपशिचमको जिल्लाहरूमा पनि वर्षा सुरू भएको बताइएको छ। काठमाडौँमा दिउँसो तीन घण्टामा ३१ मिलिमिटर वर्षा भएको जनाइएको छ। अहिले पनि काठमाडौं, चन्द्रागिरि, थानकोट आसपास हल्का वर्षा भइरहेको छ।

आज रातिदेखि मौसममा सुधार हुनेछ । तथापि देशको हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहने जनाइएको छ। गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम छ।

तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। यस वर्षा र हिमपातले केही दिनका लागि देशव्यापी रूपमा चिसो बढाउने भएको छ । चिसोसँगै रूघाखोकी र स्वास्थ्यजन्य समस्या बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्