लक्ष्मीपूजाका अवसरमा घरघरमा दीप प्रज्ज्वलन र पुजा आराधना
काठमाडौँ । धनधान्य एवं समृद्धिकी देवी लक्ष्मीको आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा गर्ने धार्मिक परम्परा छ ।
यस अवसरमा बिहानैदेखि घरआँगन सफा गरी दीपावलीका साथ लक्ष्मीलाई आमन्त्रण गर्ने चलन छ । घरका झ्याल, ढोका, आँगन र पूजाकोठामा दीप प्रज्ज्वलन गरी लक्ष्मीको पूजा गरिन्छ ।
साँझ आँगनदेखि मूलढोकासम्म लक्ष्मीको पाइला बनाएर बाटो देखाउने र दियो तथा बत्ती बालेर घरलाई झिलिमिली बनाउने परम्परा छ ।

लक्ष्मीपूजाका अवसरमा विशेषगरी शहरका घर, सडक र बजार विभिन्न प्रकारका बत्तीले सजिएका छन् । बत्तीको झिलिमिलीले शहरको रौनक थपिएको छ ।
आज साँझ लक्ष्मी, गणेश र कुबेरको पूजा गरी धनधान्य, गरगहना, फलफूल तथा मिठाई चढाउने चलन छ । यसैगरी, घरघरमा भैलो खेल्ने परम्परा पनि रहेको छ ।
लक्ष्मीपूजा गरिने आजको रातलाई सुखरात्रि पनि भनिन्छ ।